खेलकुद

फिफा विश्वकप : ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटीमा उत्साह

Banner

काठमाडौं जेठ ३० –

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ ।

गत संस्करण कतार विश्वकपमा ब्राजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसियाविरुद्ध शतब्ध बन्यो । त्यसको चार वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो । यसपाली ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ । उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करण गरेको ऐतिहासिक प्रदर्शन दाहोर्याउने चुनौती छ । कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

गत वर्ष ब्राजिलियन फुटबलको इतिहास फेरिएको थियो । जतिबेला महासंघले इटालियन कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । तीन दशकको आफ्नो व्यावसायिक प्रशिक्षण करिअरमा ६७ वर्षीय एन्सिलोटीले भएजति सबै उपाधि जितेका छन् । अहिले उनी आफ्नो प्रशिक्षण करिअरलाई पूर्णता दिन ब्राजिल आएका छन् ।

विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको ब्राजिलले ११४ मध्ये ७४ खेलमा विजयी हासिल गरेको छ । यसबीच ब्राजिलले पाँचपटक प्रतिष्ठित ट्रफी चुम्यो । यद्यपि २४ वर्ष भइसक्यो, ब्राजिलले विश्वकपको उपाधि जित्न सकेको छैन् । ब्राजिलले यसअघि पनि २४ वर्षको पखाईपछि आफ्नो चौथो विश्वकप उपाधि उचालेको थियो । सन् १९७० मा ब्राजिलले आफ्नो तेस्रो उपाधि चुमेको थियो । त्यसपछि चौथोपटक च्याम्पियन हुन ब्राजिलले १९९४ सम्म कुर्नुपर्यो । त्यो पनि अमेरिकाको माटोमा । यसपाली त्यही संयोग जुरेको छ ।

विश्वकप इतिहासमा ब्राजिलले आठमध्ये सातपटक अफ्रिकन राष्ट्रलाई हराएको छ । ब्राजिलले एक मात्र हार गत संस्करण क्यामरुनसँग बोहोरेको हो । क्यामरुनले समूह चरण्मा ब्राजिललाई १–० ले हराएको थियो । मोरक्को ब्राजिललाई हराउने दोस्रो अफ्रिकन राष्ट्र बन्न चाहन्छ । चार वर्षअघि मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो ।

सातौं विश्वकप अनुभव लिइरहेको मोरक्कोलाई यसपाली प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’का रुपमा हेरिएको छ । मोरक्कोले आफ्नो सुरुआती तीन सहभागिता उत्तर अमेरिकामै जनाएको थियो । मेक्सिको (१९७० र १९८६) अनि अमेरिका १९९४ मा मोरक्कोले प्रतिनिधित्व गरेको थियो । मेडन अनुभवमा समूह चरणबाटै बाहिरिएको मोरक्कोले १९८६ मा अन्तिम १६ सम्मको यात्रा गरेको थियो ।

अमेरिका १९९४ मोरक्कोका लागि विर्सनलायक रह्यो । टोलीले समूहका तीनवटै खेलमा एक गोलको अन्तरले पराजय बेहोर्यो । एट्लास लायन्सले पछिल्ला वर्षहरुमा आफूलाई शक्तिशाली फुटबल राष्ट्रका रुपमा उभ्याएको छ । सन् २०२३ यता मोरक्कोले ४५ खेलमा ३३ जित हासिल गर्दा १० बराबरी र दुईमा हार आत्मसात गरेको छ । अहिले त मोरक्को फिफा वरीयताको सातौं स्थानमा छ । नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीभन्दा पनि अगाडि ।

ब्राजिलसँगको पछिल्लो तीन भेटमध्ये एकमा मोरक्कोले जित हासिल गरेको छ । २०२३ मा सम्पन्न मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले स्तब्ध भएको थियो । ब्राजिलका उच्च गोलकर्ता नेइमार अझै पनि ‘काल्फ इन्जुरी’को समस्यासँग जुधिरहेका छन् । उनी आइतबारको खेलमा उपस्थित नहुने सम्भावना बलियो छ ।

स्कटल्यान्ड र हाइटीमा विश्वकपको उत्साह

उत्तर अमेरिकी राष्ट्र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको छ । यसपाली आफ्नै महादेशमा भइरहेको विश्वकपमा हाइटीको एउटै लक्ष्य हुनेछ, त्यो हो पहिलो अनुभवलाई सुधार्ने । जर्मनी १९९४ मा हाइटीले तीनवटै खेलमा हार बेहोर्दा कूल १४ गोल खाएको थियो ।

कोनकाकाफ छनोटको १० मध्ये ६ खेलमा हाइटीले विजयी हासिल गरेको थियो । नोभेम्बरमा कोस्टा रिकालाई १–० र निकारागुवालाई २–० ले हराउँदै हाइटी विश्वकपमा फर्किएको हो । विश्वकप २०२६ का ४८ राष्ट्रमध्ये हाइटी फिफा वरीयतामा पुछारबाट दोस्रो स्थानमा छ । विश्वकपअघि हाइटीले पुछारको न्युजिल्यान्डमाथि ४–० को रवाफिलो जित हासिल गर्यो ।

स्कटल्यान्ड आफ्नो नवौं विश्वकप अनुभव लिँदैछ । पछिल्लोपटक स्कटल्यान्डले १९९८ फ्रान्स विश्वकप खेलेको थियो । युइएफए छनोटमा ६ मध्ये चार खेल जितेको स्कटल्यान्डलाई मोरक्को र नर्वेसँगै ‘डार्क हर्स’का रुपमा हेरिएको छ । स्कट म्याकटोमिने र एन्डी रोबर्टसन जस्ता विश्व फुटबलका चर्चित खेलाडी रहेको स्कटल्यान्ड बढीमा दोस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।

विश्वकपअघि स्कटल्यान्डले १० खेलाडीमा समेटिएको कोरासाओलाई ४–१ ले हराएको थियो । त्यसपछि स्कटल्यान्डले बोलिभियालाई ४–० ले हरायो । अहिलेसम्म समूह चरण पार गर्न नसकेको स्कटल्यान्डसँग यसपाली नकआउट पुग्ने राम्रो अवसर छ । खेल नेपाली समयअनुसार आइतबार बिहान ६ः४५ बजे हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>