Breaking News
सरकारले बजेट ल्याएपछि रास्वपा महामन्त्री शाहले भनेः ढुक्क हुनुस् , देश बन्दैछ

चितवन, जेठ १६–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टीले गरेको चुनावी वाचापत्रलाई सरकारले प्रतिवद्धता पत्र हुँदै बजेटमा ढालेकाले देश विकास हुनेमा ढुक्क रहन आग्रह गर्नु भएको छ ।
शनिबार चितवनको भरतपुरमा आयोजित रास्वपा भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको समुद्घाटन गर्दै महामन्त्री शाहले नियत सफा भए सबै कुरा संभव हुने भन्दै जनतालाई गरेको वाचा सरकारले पूरा गर्ने दावी गर्नुभयो ‘सरकारले पार्टीले तयार पारेको वाचा पत्रलाई प्रतिवद्धता पत्रमा ढाल्यो, अहिले बजेटमा ढाल्यो, अब त्यसलाई विकासमा ढाल्नका लागि अगाडि बढिरहेको छ, ढुक्क भएर बस्न आग्रह गर्दछु’ महामन्त्री शाहले भन्नुभयो–‘नियत सफा छ भने सबकुछ संभवछ, जनतालाई गरेको वाचा सरकारले पूरा गर्छ ।’
महामन्त्री शाहले आगामि वर्ष हुने प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीले स्पष्ट जित हात पार्ने गरि काम गर्नुपर्ने बेला आएको बताउनुभयो । त्यसका लागि पार्टी कस्तो बनाउने, प्रवृत्ति र व्यवहार कस्तो चाहिन्छ ? यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने–‘अहिले पार्टीले संघीय सरकारमा नेतृत्व गर्दै गर्दा निर्वाचनको उद्देश्य मात्रै पूरा भएको हो, देश जित्ने उद्देश्य पुरा भएको छैन, आगामि प्रदेश सभा र स्थानीय तहमा स्पष्ट रुपमा पार्टीले जित्नुपर्छ । त्यसका लागि पार्टी र नेतृत्व कस्तो चाहिन्छ, प्रवृत्ति र व्यवहार कस्तो चाहिन्छ ? त्यसमा ध्यान दिनपर्छ ।’
महामन्त्री शाहले पार्टीहरुमा दुई किसिमका गुणको संघर्ष हुने भन्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिड्नुपर्नेमा जोड दिए । ‘एकातिर प्रचार गरिरहने, काम कम गर्ने, नेताको आसेपासे हुने, आफ्नो काम पुरा गर्ने खालका गुणका मानिस हुन्छ, अर्कोतिर पार्टीलाई काधमा लिएर जीवनभर हिड्ने, योगदान गरिरहने, काम गरिरहने हुन्छ । जहिले पनि यी दुई वटा गुणको अन्तरसंघर्ष चलिरहेको हुन्छ’ महामन्त्री शाहले भने–‘पार्टीमा योगदान दिने, काम गरिरहने वर्ग नथाक्नु होला, हामी पार्टी बनाउनै पर्छ ।’
कांग्रेस, एमाले र माओवादीलाई अहिले यो अवस्थामा पुग्नुको कारण जहिले पनि प्रचारमुखी, नेताको आसपासे, आफ्नो स्वार्थ पुरा गर्ने अवसरवादीले ठाउँ पाएकाले नै भएको स्मरण गर्दै अब देशको सम्मुखमा रास्वपा उभिएकाले रास्वपाले कुन बाटो तय गर्ने त्यसमा ध्यान दिनुपर्ने बेला आएको बताए । पार्टीलाई काधमा लिएर जीवनभर हिड्ने, योगदान गरिरहने, काम गरिरहने वर्गलाई नथाक्न आग्रह गर्दै छाती ठूलो बनाएर काम गर्नमा आग्रह गरे ।
महामन्त्री शाहले एकपटक पार्टी बन्यो भने पार्टीले कम्तीमा दुई/तीन दशक देशको नेतृत्व गर्ने दावी गर्दै अहिले पार्टी बलियो बनाउने बेला आएको बताए । देशभर पार्टीको अधिवेशन चलिरहेको बेला महामन्त्री शाहले भने–‘अहिले पार्टी निर्माण गर्ने बेला हो, अहिले योगदान दिनेलाई पार्टीले अवसर दिन्छ ।’
महामन्त्री शाहले पार्टी महाधिवेशनमा होमिएको भन्दै महाधिवेशनको तयारीकै लागि चितवन आइपुगेको बताए । पार्टीको संगठन सुदृढ बनाउने, भावी दिनको वैचारिक बाटो पार्टीले कसरी लिने, अवलम्बन गर्ने भन्ने छिनोफानो अब चितवनबाटै हुने उनको भनाई थियो ।


























