चितवन विशेष
एडिलेडमा चितवन समाजद्वारा नयाँ वर्ष २०८३ विशेष कार्यक्रम तथा भित्तेपात्रो विमोचन

एडिलेड, अष्ट्रेलिया-
चितवन समाज साउथ अष्ट्रेलियाले नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गरेको “शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। शनिबार Ascot Park स्थित Active Elders Association हलमा सम्पन्न कार्यक्रममा दक्षिण अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली भाषा, कला, संस्कृति तथा मौलिक पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
प्रवासमा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। सहभागीहरूका लागि नेपाली परिकारसहित आतिथ्य तथा निःशुल्क खाजाको व्यवस्था गरिएको थियो।
यसै अवसरमा संस्थाद्वारा प्रकाशन गरिएको नयाँ भित्तेपात्रोको औपचारिक विमोचन गरिएको थियो। मञ्जु खड्का, कौशल उप्रेती तथा युवराज पहाडी ले संयुक्त रूपमा भित्तेपात्रो सार्वजनिक गरेका थिए। पात्रोमा नेपाली चाडपर्व, तिथि तथा सांस्कृतिक विशेषता समेटिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मञ्जु खड्काले प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा चितवन समाजले खेलेको भूमिकाको प्रशंसा गरिन्। उनले यस्ता कार्यक्रमले नेपाली समुदायबीच एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने बताइन्।
त्यसैगरी एनआरएनए साउथ अष्ट्रेलिया का सचिव युवराज पहाडी, फेन्का साउथ अष्ट्रेलिया का संयोजक पुष्कर कोइराला तथा Annex Real Estate का निर्देशक नवीन कँडेलले नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै संस्थाको सफलताको कामना गरेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य प्रतीक्षा पोखरेलले राखेकी थिइन् भने सञ्चालन श्रीजा कँडेलले गरेकी थिइन्। अध्यक्ष कौशल उप्रेतीले प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति र पहिचान जोगाउनु सबै नेपालीको साझा दायित्व भएको बताए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा एडिलेड नेपाली भजन किर्तन समूहको भक्तिमय प्रस्तुति रहेको थियो। आयोजकका अनुसार कार्यक्रमले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको छ।

























