समाचार

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकः २७ हजार बढी लाभान्वित

Banner

अत्तरिया (कैलाली), वैशाख ८-

धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट २७ हजार ८३९ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि चैत मसान्तसम्ममा २७ हजार ८३९ बिरामी प्रत्यक्ष लाभान्वित भएका हुन् ।

ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरिएको उक्त कार्यक्रमबाट सो अवधिमा २० हजार ८७५ महिला र छ हजार ९६४ जना पुरुषले निःशुल्क विशेषज्ञ सेवा लिएका कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको हो । सो अवधिमा १६ हजार ९०० जनाले जनरल फिजिसियनबाट, तीन हजार ७१५ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र सात हजार २२४ जनाले आँखारोगसम्बन्धी सेवा लिएका छन् ।

उहाँका अनुसार क्लिनिकमा १८ हजार १६ जनाले प्रयोगशाला सेवा, तीन हजार ८७ जनाले इसिजी सेवा, तीन हजार ४९८ गर्भवतीले सेवा लिएकामा एक हजार ३०६ जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन् । यस्तै ७० वर्षभन्दा माथिका छ हजार ४६२ जनाले सेवा लिएका छन् ।

विसं २०७९ को साउनबाट सुरु गरिएको सो कार्यक्रम हरेक महिना १९ वटै वडामा सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । आव २०८१\८२ मा उक्त कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० पुरुष गरी ४४ हजार ४५१ जनाले सेवा लिएका उपमहानगरपालिकाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>