विचार/ब्लग
कालिञ्चोक जिरी डायरीः यात्रा याद र अनुभूति

बिज्ञान पौडेल-
शनिबारको बिहानी । बिहान ३ बजे समूहका केही अग्रजलाई म बिउँझेपछि फोन गरी उठाउनु पर्ने मेरो बाचा थियो। भन्दा अपत्यारिलो लाग्ला—आजसम्म मैले बिहान आफूलाई जगाउन अलार्मको सहायता लिएको छैन। बिहान ३ नबज्दै आँखा खुले, उठेँ अनि पहिला कोषका अध्यक्ष कमलकान्त शर्मा अंकल र कोषाध्यक्ष सनोश झा दाइलाई फोन गरेँ। सन्तोष दाइ उठिसक्नु भएको रहेछ ।
बिहान उठेर आफ्नो नित्यकर्म पूरा गरेँ । आफ्नो पाटो सकेपछि ४ बजे श्रीमती प्रतीक्षाको अलार्म बज्यो, उनी पनि उठिन र आफ्नो दैनिक कर्म पूरा गर्न भालिन । यसै क्रममा मैले मेरा छिमेकी दाइ कपिललाई फोन गरेँ । दुवै जोडी तयार भएर बिहान ५ बजे घर नजिकैको छहारी चोक गयौँ । एक जोडीका तीन दिनलाई पुग्ने गरी कपडा र आवश्यक सरसामानले भरिएका झोला आ–आफ्ना काँधमा बोकेर छहारी चोक पुग्दा हामीलाई मुक्तिनाथ एक्सप्रेस बस पर्खिरहेको थियो ।
केही आइसकेका थिए भने केहीलाई पर्खिरहेका थियौँ । करिब ५ः१५ बजेतिर हाम्रो यात्रामा सहभागी हुने भनिएका जम्मा २८ जनामध्ये केही बाहेक सबै पुगे । बसेनी चोकबाट ४ जना चढेपछि त्यो संख्या पनि पूरा भयो र हामी निस्कियौँ—एउटा लामो तर रोमान्चक र धार्मिक यात्रा, कालिन्चोक भगवती र दोलखा भिमसेनको दर्शनका लागि । त्यसपछि जिरी बजारको सुन्दरता नियाल्ने योजना त छँदै थियो ।
बिहानको सिरसिरे हावा, गाडीमा मन्द गुन्जिरहेको भजन, उत्सुकताले भरिएका मनहरू—सामूहिक अनि संस्थागत यात्रा प्रारम्भ भयो, जसलाई एकै साङ्लोमा बाँधेको थियो ‘साथी मिलन कोष’ले । राजधानी जोड्ने राजमार्ग हुँदै हामी धादिङको मलेखु नपुग्दै सडकछेउको सानो होटलमा रोकियौँ । अझ भनौँ, हामी बिहानको चिया–नास्तासँगै शौचालयको आवश्यकता देखेपछि रोकिएका थियौँ । साँझसम्म जसरी पनि दोलखाको कुरि बजार पुगेर बास बस्नु थियो—समय कम थियो। केही खाएर पुनः भाइ विष्णुले मुक्तिनाथ एक्सप्रेस अघि बढाउनुभयो ।
दिनको करिब १२ः४५ बजे बनेपा–धुलिखेल पुग्यौँ । चिनजानका अग्रजहरूको सुझावअनुसार राम्रो खाना पाइने भनिएको ‘होटेल छाप्रो’मा पुग्यौँ । सुन्दा अचम्म लाग्ला—पक्की भवनको पहिलो तलामा सञ्चालित उक्त होटलको नाम भने ‘होटेल छाप्रो’ रहेछ । घरैको जस्तो, स्थानीय उत्पादनबाट बनेको खाना—भोक र जिब्रोलाई न्याय दिने खालको थियो। सबैले मन परायौँ, थपी–थपी खायौँ ।
खाना खाइसकेपछि केहीबेर आराम गर्दै, समय सदुपयोग गर्न म र अनन्त दाइ नजिकैको तरकारी पसलमा गयौँ । त्यहाँबाट काक्रा र गाजर किन्यौँ—एक झोला २४० रुपैयाँमा । स्थानीय किसानको मेहनतले उत्पादन गरेको हुँदा सस्तो र सन्तोषजनक लाग्यो । हामी फर्किँदा गाडी तयार भइसकेको थियो । करिब २ बजेतिर पुनः यात्रा सुरु गर्यौँ। अब काभ्रे छोड्दै गर्दा सिन्धुपाल्चोकले स्वागत गरिरहेको थियो । बाटोमै पाँचखालको एउटा पेट्रोल पम्पमा गाडीमा तेल हाल्यौँ र अगाडि बढ्यौँ।

सिन्धुपाल्चोक प्रवेश गर्दा, विगतमा भूकम्प र बाढीपहिरोले चर्चित बनेको यो जिल्लाको सम्झना आयो। त्यही क्रममा मैले समूहलाई प्रस्ताव गरेँ—“सुकुटे बीच बाटोमै पर्छ, जाउँ।” सबैले सहमति जनाएपछि केहीबेर सुकुटे बीचमा विश्राम गर्यौँ। फोटो र भिडियो खिचेर रमाइलो गर्यौँ। त्यसपछि चरिकोट हुँदै कुरि बजार जाने उकालो बाटो लाग्यौँ। घुमाउरा मोड, उकालो पहाडी बाटो र निर्माणाधीन साँघुरो सडक चालकका लागि सजिलो थिएन। तर भाइ विष्णुले कुशलतापूर्वक गाडी कुरिसम्म पु¥याउनुभयो।
कुरि पुग्दा रात परिसकेको थियो। चिसो बढ्दै थियो, थकान पनि उस्तै थियो तर उत्साह कम भएको थिएन। डाँडाकाँडामा झिलिमिली बत्तीले सजिएका घरहरू देख्दा अंगेजिमा एउटा भनाई छ— ‘Difficult Roads often lead to beautiful destinations’
करिब ८ बजेको हुदो हो ,थकानले ठ्याक्कै समय पनि सम्झना भएन । साझपख हाम्रा महिला टोलि केहिबेर नाचगानमा लागे ,केहिबेर हामिले आफ्ना दुख अनि सुख सुनाउने एउटा सामुहिक कार्यक्रम चलायौँ । साँझ नाचगान, अनुभव साटासाट र भावनात्मक कुराकानीमा बित्यो। अनन्त दाइ र श्रीजना भाउजुको अनुभवले सबैलाई भावुक बनायो। खाना खाएर आराम गयौँ।
भोलिपल्ट आइतबारको बिहानी । बिहान ५ बजेतिर उठेर तयारी हुँदै थियौँ । कोही सबेरै उठेर केबलकारको लाइनमा पुगिसक्नुभएको थियो भने कोही तयारीमै थियौँ । यसै क्रममा नमुना दिदी, छोरी अनिसा र बिदुर दाइलाई असहज भएको थाहा भयो। नमुना दिदीले केही गाजर खाएर उल्टी रोक्ने औषधि सेवन गरी जाने हिम्मत गर्नुभयो। तर छोरी अनिसा र बिदुर दाइलाई हामीले नजान सुझाव दियौँ, त्यसैले उहाँहरू होटलमै आराम गर्नुभयो ।
हामी केबलकारको लाइनमा बस्यौँ। करिब १५ मिनेटमै पालो आयो। छोटो समयमै माथि पुगेर कालिन्चोक भगवती माताको समीप उत्रियौँ। मन्दिर दर्शनका लागि करिब १० मिनेट मात्र लाइन बस्नुप¥यो—सायद आइतबार भएकाले भीड कम थियो। करिब ३८०० मिटर उचाइमा रहेको उक्त स्थानबाट गौरीशंकर हिमाल नियाल्दै दर्शन गर्नु अत्यन्तै अविस्मरणीय अनुभव रह्यो। चिसो यति थियो कि पैताला भुइँमा टेक्नै गाह्रो। श्रीमती प्रतीक्षा र मैले खाली खुट्टा लाइन बस्ने प्रयास गर्यौँ, तर अन्ततः मोजा लगाउनु नै पर्यो।
दर्शन गरी केही फोटो खिच्यौँ, करिब एक घण्टा रमायौँ र पुनः होटल फर्कियौँ। छोरी अनिसाको अवस्था सामान्य नै थियो, तर दाइ अनन्त र भाउजू श्रीजना उहाँसँगै कुरेर बस्नुभएको थियो। हामी फर्किएपछि उहाँहरूलाई दर्शनका लागि पठायौँ । उहाँहरू फर्किएपछि हामीले कालो चिया खायौँ। खाली पेटमै चरिकोट हुँदै दोलखा भिमसेनको दर्शनका लागि प्रस्थान गर्यौँ । कुरि बजारबाट ९ बजेतिर निस्कियौँ। बाटोमै स्थानीय हेल्थपोस्टमा रोकी जिवनजल किनेर सेवन गरायौँ। गाडी आफ्नै गतिमा अघि बढिरह्यो। यात्राका क्रममा नानीको उल्टी रोकिएन ।
करिब १० बजेतिर दोलखा भिमसेन पुग्यौँ । अरू मन्दिरतर्फ लाग्नुभयो भने हामी भने नानीका लागि औषधि किन्न नजिकैको फार्मेसी गयौँ । औषधि खुवाएपछि दाइ र म पनि मन्दिरतर्फ लाग्यौँ। मुख्य सडकबाट केही पैदल हिँडेर मन्दिर पुग्यौँ, दर्शन गर्यौँ र फर्कियौँ।
त्यसपछि नजिकैको होटलमा खाना खायौँ—२०० रुपैयाँमा सादा तर स्वादिलो खाना । होटल साहुनीको माइती चितवनको रामपुर रहेछ भन्ने थाहा पाउँदा अझ अपनत्व महसुस भयो। खाना ताजा र अर्गानिक थियो। त्यहाँबाट १२ः३० बजेतिर हिँड्यौँ। १ बजेतिर चरिकोट पार गर्यौँ। बिस्तारै अगाडी बढीरहयो । तामाकोशी नदीसँगै यात्रा गर्दै नयाँ पुल, मैनापोखरी हुँदै करिब ३ः३० बजे जिरी पुग्यौँ।
जिरीमा ‘यार्सा होटल’मा बस्ने व्यवस्था गरेका थियौँ । होटल पुग्नासाथ दिपा दिदीको मिल्क टि खाने चाहना पूरा गर्दै सबैले चिया पियौँ र थकान कम गर्यौँ । व्यवस्थित होटलमा करिब ३० मिनेट सुस्ताएर पुनः वरपर घुम्यौँ । केहीबेर आराम गरेपछि वरपर घुम्ने योजना बनायौँ । जिरीबाट केही माथि जिरेश्वर महादेवतर्फ जाँदै गर्दा ‘switzerland of Nepal’भन्ने उपमा किन दिइएको हो भन्ने प्रत्यक्ष अनुभूति भयो ।

हरियाली, फराकिलो घाँसे मैदान, बगिरहेको खोला, शान्त बस्ती—सबै अत्यन्तै मनमोहक। अझ आँखा,मन अनि मस्तिष्क सबै रिचार्ज भए, गाडी रोक्न लगाएर सबका सब सानो झुलुङ्गे पुल तरेर पारी लाग्यौ । त्यति सुन्दर हरियाली, बन, फराकिलो घासे मैदान, छेउमै बगिरहेको सानो खोला, शान्त वस्ती, पातला घरहरु, घर आगनमा लगाइएका तरकारी, कम्ता सुन्दर थिएनन् । हामीले सानो झोलुङ्गे पुल पार गरेर अर्को किनार पुग्यौँ । फोटो, भिडियो, टिकटक—सबैमा व्यस्त भयौँ। पहिलो र दोस्रो बिश्वयुद्दमा आफुलाइ तटस्थ रहेर आफ्नो सुन्दरता जोगाएको स्विजरल्यान्डको पर्यायवाची व्याख्या जिरीले त्यसै पाएको होइन रहेछ । जिरिको सुन्दरता शब्दमा ब्याख्या गरेर नसकिने रहेछ । छोडन मन थिएन तर नछोडेर पनि भएन । पुन होटेल फर्कियौ । जिरीको सुन्दरता शब्दमा बयान गर्न गाह्रो लाग्यो।
साँझ होटल फर्कियौँ, खाना खायौँ र नाचगान गर्यौँ। नाचगानकै क्रममा म र प्रतीक्षाको प्रस्तुति उत्कृष्ट ठहरियो र अध्यक्ष र कार्यसमितीका पदाधिकारीबाटहामी पुरस्कृत पनि भयौँ । भोलिपल्ट सोमबारको बिहानी । बिहानै उठेर सामान्य ब्रेकफास्ट गर्यौँ र करिब ५ः३० बजे जिरीबाट प्रस्थान गयौँ। झिस्मिसे अँध्यारोमै सुन्दर जिरीलाई बिदाइ गर्दै अगाडि बढिरहँदा म भने गाडीको अगाडिको सिटमा बसेर भजन बजाउँदै थिएँ । सबैले त्यसमा साथ दिँदै तालमा थपडी बजाइरहनुभएको थियो । यत्तिकैमा गाडीबाट असहज आवाज आयो—पछाडिको देब्रे टायर पन्चर भएछ । अब केहीबेर रोकिनु पर्ने भयो। करिब आधा घण्टा लगाएर टायर परिवर्तन गरियो र पुनः यात्रा सुरु गर्यौँ।
करिब बिहान ८ बजेतिर रामेछाप जिल्ला प्रवेश गर्यौँ। तामाकोशी नदीलाई दायाँ पार्दै अघि बढ्दा मन्थली सम्झना आयो। लेखक जगदीश घिमिरेको चर्चित कृति “अन्तरमनको यात्रा” पढ्दा मनमा बसेको मन्थलीलाई प्रत्यक्ष देख्ने अवसर पाउँदा मन निकै सन्तुष्ट भयो। बाटोभरिका घर, आँगन, खेत, खोलानाला र हरियाली पाखाहरूमा म पुस्तकमा वर्णित त्यही मन्थली खोजिरहेझैँ लाग्यो ।
८ः४५ बजेतिर मन्थली प्रवेश गर्दा त्यो अनुभूति झन् गहिरियो । सायद अरूभन्दा म अलि बढी भावुक र सन्तुष्ट थिएँ । अगाडि बढ्दै जाँदा पुनः पन्चर भएको टायर मर्मत गर्नु पर्ने भयो । त्यसका लागि सिन्धुलीको खुर्कोटमा गाडी रोक्यौँ । मर्मत सकेर फेरि यात्रा अघि बढायौँ । खुर्कोटदेखि सिन्धुलीतर्फको करिब ३०–३५ किलोमिटर सडक घुमाउरो भए पनि निकै व्यवस्थित र रमाइलो लाग्यो ।

केही समयपछि सिन्धुलीगढी उक्लिने चोक आयो र हामी त्यतातर्फ लाग्यौँ। नेपाल र नेपालीको स्वाभिमानसँग जोडिएको ऐतिहासिक स्थल सिन्धुलीगढी पुग्दा मनमा छुट्टै गर्वको अनुभूति भयो। प्रति व्यक्ति ५० रुपैयाँको टिकट लिएर भित्र प्रवेश गर्यौँ । त्यहाँ रहेका ऐतिहासिक तथ्य, वीरता र नेपाली सेनाको पराक्रमका कथाहरू हेर्दा साँच्चै नेपाली हुनुमा गर्व लाग्यो । यही भूमिबाट अङ्ग्रेजहरू पराजित भएर फर्किएको इतिहास सम्झँदा मन उत्साहित भयो । केहीबेर त्यहाँ बिताएर हामी तल सिन्धुली बजारतर्फ झर्यौँ ।
गेटबाट पस्दापस्दै गर्बिलो महसुस हुने सिन्धुली गढिमा रहेका हाम्रा वीरताले सजिएका ऐतिहासिक तथ्य हेर्दा वास्तबैमा नेपाली हुनुमा जोकोहिलाइ गर्व लाग्छ । मलाइ पनि त्यस्तै लाग्यो । मल्लकालिन राजा जयस्थिती मल्लका पालामा काठमाडौं प्रवेश गरि देश कब्जा गर्ने अङ्रेज देखि बङ्गाली सुल्तान सम्मका योजना बिफल बनाउने रणनीति अनुसार यो उचो गढिलाइ प्रयोगमा ल्ताइएको थियो । यहि माटो बाट अङग्रेजहरु पराजित भइ हाम्रा वीर र बहादुर शैनिक सङ्ग पराजित भएर फर्केका ईतिहास छन् । केहिबेर अल्झियौँ आज हामी नेपाली भएर उभिएको, चिनिएको ईतिहास नियाल्यौ,हेर्यौ । गौतम बुद्दको जन्मथलो लुम्बिनी पुग्दा जुन शान्ती प्राप्त हुन्छ त्यस्तै उच्च मनोबल र साहासी महसुस सिन्धुली गढि पुग्दा भयो ।
सिन्धुली बजारमा ४५० रुपैयाँमा खसीको मासुसहितको स्वादिलो खाना खायौँ। त्यसपछि हेटौंडातर्फ यात्रा अघि बढायौँ । मदन भण्डारी राजमार्ग हुँदै करिब ४ः३० बजेतिर हेटौंडा बजार पुग्यौँ। त्यहाँ नजिकै रहेको भुटनदेवी मन्दिरमा दर्शन गर्यौँ । पुनः भरतपुरतर्फ लाग्यौँ । बाटोमा मनहरी बजारमा केहीबेर रोकी चिया–खाजा खायौँ । त्यसपछि यात्रा निरन्तर अगाडि बढ्यो ।
लोथर खोलो पार गर्दा घर नजिक आइपुगेको अनुभूति भयो—किनकि लोथर प्रवेश गर्नु भनेको चितवन प्रवेश गर्नु जस्तै लाग्छ । केहीबेरपछि गाडी रोकियो र कोषका अध्यक्ष तथा कोषाध्यक्षले यात्राको खर्च विवरण र समिक्षा प्रस्तुत गर्नुभयो। सबैले ध्यानपूर्वक सुन्यौँ । यात्राका क्रममा अनन्त दाइको जोडीले भावना प्रस्तुत गर्दा विशेष पुरस्कार पाउनुभयो भने म र प्रतीक्षाले नृत्यका लागि सम्मान पायौँ।
अब घर पुग्ने उत्सुकता सबैमा बढ्दै गइरहेको थियो। सबैका फोनहरू आउन थाले—घरका सदस्यहरू पर्खिरहेका थिए। मेरो घरबाट पनि आमा, बुवा र बच्चाहरूको फोन आइरहेको थियो । टीकौली जंगल आइपुग्दा सिमसिम पानी पर्न थाल्यो। अन्ततः हामी जुन चोकबाट यात्रा सुरु गरेका थियौँ, त्यहीँ साँझ करिब ८ बजे आइपुग्यौँ । २ रात ३ दिनको यात्रा पूरा गरेर फर्कँदा शरीरमा थकान त थियो, तर मनमा सन्तुष्टि, खुसी र अविस्मरणीय सम्झनाहरू भरिएका थिए । नयाँ ठाउँ जानु, नयाँ कुरा सिक्नु पनि हो—अनुभव सङ्गाल्नु हो। यसै पनि, बच्चा हुँदा आफ्नो hobby मा म travelling लेख्ने मान्छे । त्यसमा पनि यस यात्रामा समावेश भएका काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली पुग्ने मेरो इच्छा नै थियो ।
त्यसमाथि, यसपालि म र मेरी जीवनसाथी प्रतीक्षालाई बुवाआमाले बच्चा घरमै राखेर घुम्न जाने छुट दिनुभएको थियो । बच्चा साथमा हुँदा आउने थप जिम्मेवारीभन्दा अलग भएर यात्रा गर्दा केही सहज हुने कुरा स्वाभाविक नै हो—र यसपटक त्यो सहजता महसुस पनि भयो । हो, यात्रामा निस्कनु आफैँमा एउटा पाठशाला हो। यो स्मरणीय, धार्मिक तथा सम्झनयोग्य यात्रालाई पूर्णता दिन निकै मेहनत गर्नुहुने साथी मिलन कोषका अध्यक्षलगायत सम्पूर्ण कार्यसमिति र सहभागी आदरणीय सबैलाई विशेष धन्यवाद ।

























