समाचार
पश्चिम एसियामा रहेका नेपालीको उद्धारमा विशेष उडान

काठमाडौं, चैत्र १९-
सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउन विशेष उडानको व्यवस्था गरेको छ ।
“पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको र माननीय परराष्ट्रमन्त्रीज्यूको निर्देशनमा नेपाल वायुसेवाले मिति ३ देखि ५ अप्रिल २०२६ सम्म निम्न क्षेत्रमा विशेष उडान सञ्चालन गर्ने ब्यहोरा अनुरोध छ,” परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल एयरलाइन्सको एउटा विमान अप्रिल ३ मा काठमाडौंबाट दुबई जाने र अप्रिल ४ मा दुबईबाट काठमाडौं फर्कनेछ । यस्तै, नेपाल एयरलाइन्सको अर्को उडान अप्रिल ५ मा काठमाडौंबाट दमाम र अप्रिल ५ मा दमामबाट काठमाडौं फर्कने गरी मिलाइएको परराष्ट्रले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा ३१ मार्च २०२६ का दिन परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
परराष्ट्रमन्त्रीको निर्देशनमा नेपाल वायुसेवाले ३ देखि ५ अप्रिल २०२६ सम्म पश्चिम एसियामा विशेष उडान सञ्चालन गर्न लागेको हो । पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका थिए ।

























