देश/प्रदेश

दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता

Banner

टक्सार (भोजपुर), चैत १९ –

दुर्गम पहाडी जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार गर्नका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । जिल्लाका नागरिकले पनि स्थानीयस्तरमा सहज रूपमा स्वास्थ्य सेवा नपाउँदा आकस्मिक तथा गम्भीर प्रकृतिका बिरामीले थप उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।

पूर्वका भोजपुर, खोटाङ, सङ्खुवासभालगायत जिल्लाका नागरिकले स्वास्थ्य सेवा लिनका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने समस्या छ । उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि भोजपुर नगरपालिका–६ घर भएका पञ्चकन्या माविका शिक्षक गणेश प्रधानलाई हेलिकप्टर चार्टर गरेर आज नर्भिक अस्पताल काठमाडौँ पठाइएको छ ।

जिल्लामा २०३५ सालदेखि हवाई उडान सुरु भए पनि नियमित उडान भएको छैन । यहाँ नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँका लागि सातामा तीन उडान मात्र भर्दै आएको जिल्लास्थित निगमका प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । “तालिकाका दिन मौसम खराब भएमा नियमित उडान हुँदैन । सदरमुकाममा हेलिकप्टरको आवाज सुन्नसाथ जिल्लामा बिरामी लिन आएछ भनेर थाहा हुन्छ । स्थानीय टुँडिखेलमा विगतमा नेपाली सेना र सरकारका मन्त्री आउँदा मात्र हेलिकप्टर आउनेमा पछिल्लो समय बिरामी लिनका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाका साथै पर्याप्त प्रविधिसमेत नभएकाले उपचारका लागि नागरिक अन्यत्र जानुपर्ने समस्या रहेको स्थानीय सञ्जीव कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर हुने र उपचारका लागि जतिसक्दो चाँडो लैजानुपर्नेलाई हेलिकप्टर चार्टर गरी लैजाने गरिएको छ, यो यहाँका नागरिकको बाध्यता हो ।”

हेलिकप्टर चार्टर गरी बिरामी लैजाँदा लाखौँ खर्च गर्नुपर्ने भएकाले न्यून आर्थिक अवस्था भएका सबैभन्दा बढी मार पर्ने गरेका कार्कीको भनाइ छ । “महँगो शुल्कमा हेलिकप्टर चार्टर गर्न बिरामीका आफन्त तयार हुने भए पनि कसरी हेलिकप्टर चार्टर गर्नेमा भन्नेमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो ।

स्थानीय यदु सुवालका अनुसार ग्रामीण क्षेत्रका सहज रूपमा स्वास्थ्य पहुँच विस्तार हुनु आजको आवश्यकता हो । दुर्गम जिल्लाका नागरिकका यस्ता समस्यालाई सरकारले सम्बोधन गरी समाधानका विकल्प खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस/फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>