Breaking News
चितवनको दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा बस ठोक्कियो,१३ जना घाइते

भरतपुर,चैत १८-
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा बस ठक्कर खाँदा १३ जना घाइते भएका छन । आज अपरान्ह ३ः४० बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले सडक किनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि बसमा सवार घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पतालतर्फ पठाइएको थियो। घाइते सबैको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बस चालक र ट्याङ्कर चालक फरार छन । दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेका छन् भने सडक आवागमन भने अवरुद्ध नभएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धारमा इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी निरीक्षक यम सापकोटाको कमाण्डमा टोली खटिएको थियो।
घाइतेहरूको अवस्था अनुसार केही सामान्य, केही मध्यम तथा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरु चितवन र मकवानपुरका छन ।
























