स्वास्थ्य

होलीको रङबाट छालालाई कसरी जोगाउने ? यस्तो हुनुपर्छ तपाईंको स्किन केयर रुटिन

Banner

काठमाडौँ फागुन १५ –

रङहरूको पर्व होली आउन अब केही दिनमात्र बाँकी छ। होली रङ, गुलाल, खुसी र रमाइलोको चाड हो। हामी होलीमा लगाउने लुगा, पिचकारी र परिकारको तयारी त पहिले नै गर्छौँ, तर धेरैजसोले आफ्नै छालाको हेरचाह गर्न भने बिर्सिरहेका हुन्छौं।

कतिपयलाई त रासायनिक रङ र घामको असरले छालामा गम्भीर समस्या निम्त्याउन सक्छ भन्ने थाहै हुँदैन। त्यसैले, होलीमा रङ खेल्नुअघि नै छालालाई तयार पार्नु अत्यन्तै आवश्यक हुन्छ।

छालाले आफ्नो सुरक्षात्मक तह बलियो बनाउन र नमी सन्तुलनमा राख्न केही समय लिन्छ। पहिलेदेखि नै स्किन केयर रुटिन अपनाउँदा छाला कम संवेदनशील बन्छ। यसले रङमा हुने केमिकल र घामका कारण हुने जलन, र्‍याश वा पिग्मेन्टेसनको जोखिमलाई कम गर्छ। त्यसैले, होलीको अघिल्लो दिन मात्र आत्तिनुभन्दा केही दिनअघिदेखि नै छालालाई ‘प्रोटेक्ट मोड’ मा राख्नु सुरक्षित हुन्छ।

स्किन ब्यारियर भनेको के हो ?

छालाको सबैभन्दा माथिल्लो तहले पर्खाल वा ‘ब्यारियर’ जस्तै काम गर्छ। यसले बाहिरी क्षतिबाट छालालाई जोगाउँछ र भित्रको नमीलाई सुरक्षित राख्छ। यसलाई सजिलोसँग यसरी बुझ्न सकिन्छस् छालाका कोषहरू ‘इँटा’ हुन् भने तिनको बीचमा हुने लिपिड (जस्तै सेरामाइड) ‘सिमेन्ट’ जस्तै हुन्।

यही संरचनाले धुलो, ब्याक्टेरिया, केमिकल, प्रदूषण र एलर्जी गराउने तत्त्वलाई भित्र पस्न दिँदैन। स्किन ब्यारियर कमजोर हुँदा छाला सुक्खा हुने, पोल्ने, रातो हुने, डन्डीफोर आउने र पिग्मेन्टेसन बढ्ने जस्ता समस्या देखिन्छन्।

होलीका रङले छालालाई कसरी क्षति पुर्‍याउँछन् ?

होलीका रङले मुख्यतया तीन तरिकाले असर गर्छन्ः

केमिकलको असरः सस्ता रङमा सिन्थेटिक डाइ, मेटल साल्ट वा इन्डस्ट्रियल पिग्मेन्ट मिसाइएका हुन्छन्। यसले छालाको माथिल्लो तहको लिपिड बिगार्छ र जलन तथा रातोपन बढाउँछ।

रङ हटाउँदा हुने असावधानीः बल गरेर स्क्रब गर्दा वा तौलियाले कडा रूपमा रगड्दा छालामा साना घाउ बन्न सक्छन्। यसले छालालाई झन् संवेदनशील बनाउँछ।

घामको असरः होली प्रायः खुला ठाउँमा खेलिन्छ। घामको हानिकारक किरणको असरले स्किन ब्यारियर झन् कमजोर हुन्छ।

छालाको प्रकृतिअनुसार कस्तो हुनुपर्छ स्किन केयर रुटिन ?

सबैको स्किन टाइप एउटै हुँदैन, त्यसैले हेरचाह पनि फरक तरिकाले गर्नुपर्छ:

तैलीय छालाः हल्का, नन-कोमेडोजेनिक र जेल-बेस्ड उत्पादन प्रयोग गर्ने।

सुक्खा छालाः बढी हाइड्रेसन दिने र क्रिम-बेस्ड मोइस्चराइजर आवश्यक पर्छ।

संवेदनशील छालाः माइल्ड, बास्ना-रहित र छालालाई शान्त पार्ने तत्त्व भएका उत्पादन छान्ने।

डन्डीफोर आउने छालाः छालाका छिद्र बन्द नगर्ने उत्पादनको प्रयोग गर्ने।

के होलीअघि ब्युटी ट्रिटमेन्ट गर्नु सुरक्षित हुन्छ ?

हुँदैन। होलीअघि केमिकल पिल, भ्याक्सिङ वा लेजर ट्रिटमेन्ट गराउनु हुँदैन। यी प्रक्रियापछि छाला केही दिनसम्म पातलो, संवेदनशील र सजिलै सुन्निने अवस्थामा हुन्छ।

यस्तो बेला रङ, घाम र घर्षणका कारण जलन, र्‍याश र पिग्मेन्टेसन बढ्न सक्छ। त्यसैले यस्ता ट्रिटमेन्ट होलीभन्दा कम्तीमा २–३ हप्ताअघि वा होली सकिएपछि मात्र गर्नु राम्रो हुन्छ।

खानपान र समस्याग्रस्त छालाको विशेष हेरचाह

सन्तुलित र सही खानपानले स्किन ब्यारियर बलियो बनाउँछ, जलन कम गर्छ र अनुहारमा प्राकृतिक चमक ल्याउन मद्दत गर्छ। पहिले नै डन्डीफोर वा पिग्मेन्टेसनको समस्या छ भने, होलीअघि छालालाई ‘कुलिङ मोड’ मा राख्नुहोस्। यसले इन्फ्लामेसन कम गर्छ र स्किन ब्यारियर बलियो बनाउँछ।

होली खेलेपछि रङ कसरी हटाउने ?

घरमै बनाएको उबटन वा बेसनले रङ हटाउनु सुरक्षित मानिन्छ। यसले छालामा क्षति नगरी रङ, ट्यान र फोहोर हटाउन मद्दत गर्छ र नमी पनि दिन्छ। तर, अनुहारमा कडा रूपले रगड्नु हुँदैन। यसो गर्दा माइक्रो-इन्फ्लामेसन, ड्राइनेस र पिग्मेन्टेसन बढ्न सक्छ।

एलर्जी वा जलन भए तुरुन्त के गर्ने ?

चिसो पानी र माइल्ड साबुनले छाला धुनुहोस्।

एलोभेरा जेल वा सुदिङ जेल लगाउनुहोस्।

बर्फले हल्का सेक्नुहोस्।

सुतीको खुकुलो कपडा लगाउनुहोस्।

विशेष हेरचाहः पिग्मेन्टेसन हुने सम्भावना भएको छालालाई केही दिन घामबाट विशेष रूपमा जोगाउनु जरुरी हुन्छ।

यदि सुन्निने समस्या धेरै भएमा, कडा चिलाएमा, पीप भरिएका दाना आएमा, छाला छिलिन थालेमा वा २४ घण्टाभन्दा बढी जलन र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा तुरुन्त छाला रोग विशेषज्ञलाई देखाउनुहोस्।

होली खेलेको झण्डै ७ देखि १० दिनसम्म माइल्ड क्लिन्जर, राम्रो मोइस्चराइजर र सनस्क्रिनको प्रयोग गर्दै छालाको अतिरिक्त हेरचाह गर्न आवश्यक हुन्छ। न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>