फोटो फिचर

सधैं चुनाबी नारा बन्ने गोरखली रबर उद्योगको अवस्था (तस्बिरसहित)

Banner

काठमाडौँ ,फागुन १३ –

२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेडको अहिले जीर्ण बन्दै गएको छ । नेपालको एकमात्र रबर उद्योगको रुपमा स्थापित यस उद्योगले वि।सं २०५० को दशकदेखि व्यवसायिक रुपमा उत्पादन थालेको भएतापनि हाल पूर्ण रुपमा बन्दको अवस्थामा रहेको छ । मीत्र राष्ट्र चीनको सहयोगमा स्थापित गोरखकाली रबर उद्योग देशकै एउटा चर्चित उद्योग त थियो नै, यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी बृद्धीमा ठूलो टेवा पुर्याएको थियो ।

सरकारी र निजी साझेदारीमा सञ्चालित गोरखकाली रबर उद्योगले प्रतिवर्ष हेभी र लाइट गरेर विभिन्न प्रकारका १ लाख २० हजार टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो । उद्योग सञ्चालनको क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रतिवर्ष उत्पादन गरिरहेको थियो । ट्रकका लागि १२ प्रकारका, जीप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यस उद्योगले उत्पादन गर्ने गर्दथ्यो । करिब ६७० रोपनी क्षेत्रफलमा रहेको यस उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाहरुको साझेदारी रहेको देखिन्छ ।

उद्योग सञ्चालनको सुरुकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए । कुल टायर र ट्युबको आन्तरिक मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भइसकेको उद्योगले विदेशी टायरहरुसँग पनि राम्रै प्रतिस्पर्धा गरिराखेको थियो । नेपालमा उत्पादित टायरहरु भारत, बङ्गलादेश, श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकहरुमा निर्यात हुन्थ्यो । नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायतका ठूला ३० वटा शहरमा आफ्नो डिपो राखेर राम्रो बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको यस गोरखकाली रबर उद्योग गोरखाबासीको मात्रै नभएर नेपालकै एउटा प्रतिष्ठा बनेको थियो ।

तर विगत १० वर्षदेखि उद्योग पूर्ण रुपमा बन्द छ । करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौं रोपनी क्षेत्रफल भएको रबर उद्योगको वरिपरि झाडी र घारीले घेरिएको छ । उद्योगका मेसिनहरुमा खिया लागेको छ ।

हाल सुनसान देखिने यो क्षेत्रमा उद्योग रेखदेख र सुरक्षाका लागि केहि सुरक्षागार्ड राखिएको छ ।

तस्बिरः प्रकाश चन्द तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>