देश/प्रदेश
रवि लामिछाने सहकारी प्रकरणः चितवन अदालतबाट सम्पूर्ण मिसिल झिकाउन उच्च अदालतको आदेश

हेटौंडा, माघ २२–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतमा चलेको प्रारम्भिक मुद्दाको सम्पूर्ण मिसिल झिकाउन उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएको छ। बिहीबार न्यायाधीश बबिता उप्रेती र शर्मिला थापा विष्टको संयुक्त इजलासले उक्त आदेश दिएको हो। आदेशमा ठगीसम्बन्धी मुद्दासँग सम्बन्धित अभियोगपत्रसहित प्राप्त हुन सक्ने सबै कागजात संलग्न गरी मिसिल पेस गर्न भनिएको छ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतले यसअघि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा तारिखमा राख्ने आदेश दिएको थियो। उक्त आदेश बदर गरी थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सरकार पक्षले उच्च अदालतमा निवेदन दिएको थियो।
त्यसको विपक्षमा प्रतिवादी लामिछानेका तर्फबाट ५४ लाख धरौटी आदेश बदर गरी साधारण तारिखमा मुद्दाको कारबाही अघि बढाउनुपर्ने मागसहित निवेदन दर्ता गरिएको थियो। यसै प्रकरणमा संलग्न अन्य प्रतिवादी कुमार रम्तेल र वीरबहादुर रानाभाटको हकमा पनि सुरु मिसिल झिकाउने आदेश दिइएको छ। लामिछाने र सरकार पक्षबाट गत वैशाखमै उच्च अदालतमा दोहोरो निवेदन दर्ता भएको थियो।

























