Breaking News

सिमलताल दुर्घटनामा परेको बसको उत्खनन् कार्यलाई निरन्तरता दिने निर्णय

Banner

चितवन, माघ ८–

चितवनको भरतपुर–२९, सिमलतालबाट दुर्घटना परेको बस मध्ये फेला परेको एउटा बसको उत्खनन् कार्यलाई निरन्तरता दिने भएको छ ।

तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङबेसीस्थित त्रिशुली नदी किनारमा भेटिएको बस उत्खनन् कार्यलाई निरन्तरता दिने निर्णय भएको हो । आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीसहितको दुवै जिल्लाका सुरक्षा निकाय प्रमुख तथा प्राविधिक जनशक्तिसहितको आज (बिहीबार) बसेको बैठकले उद्दार कार्यमा संलग्न प्राविधिकको माग अनुसार थप उद्धारका सामग्री उपयोग गरी थप केही समय बस उत्खनन् कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले दोस्रो विकल्पको रुपमा सबै प्रयास गर्दा पनि उत्खनन् गर्न नसकिएमा सवारीका छुट्टाछुट्टै पाटपूर्जाहरु निकाली उत्खनन् गर्ने र राफसाफ गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिनुभयो । बैठकमा तेस्रो विकल्पको रुपमा हेभी उपकरणहरु हेली लिफ्टीङ गरी नदी पारी लगेर उत्खनन् गर्ने तथा सडक मार्गको पहुँच पु¥याई उत्खनन् गर्ने विषयमा छलफल भएपनि प्राविधिक जनशक्ति (इन्जिनियर)हरुबाट प्राप्त राय अनुसार थप स्रोत साधन, जनशक्ति र समयको कारणले उक्त विकल्प तत्कालको लागि सम्भव नभएकाले यसअघिकै प्रविधिबाट निरन्तरता दिने निर्णय भएको प्रजिअ अर्यालले बताउनुभयो ।

उहाँका अनुसार बैठकले हालसम्म सवारी उत्खनन्का लागि गरिएका प्रयासहरु र उपलब्ध विकल्पको बारेमा नेपाल सरकार गृहमन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराउने समेत निर्णय गरेको छ । बैठकले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, प्राविधिक जनशक्ति र आबुखैरेनी गाउँपालिकालाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

गत पुस २७ गतेदेखि बसको निरन्तर उत्खनन् भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>