चितवन विशेष

चितवनमा भव्य बन्यो क्रिएयटर्स मेला, ८ सय बढी युवाहरुले जनाए सहभागिता

Banner

चितवन, माघ ३–

नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६ः भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको विकासलाई तीव्रता दिएको छ। यस वर्षको संस्करणले डिजिटल सामग्री सिर्जनामा मात्र सीमित नहुँदै दिगो र पेसागत व्यवसाय निर्माणतर्फ ध्यान केन्द्रित गर्दै यो प्रमुख मञ्चलाई नयाँ दिशामा अघि बढाएको छ।

क्रिएटर्स मेला २०२६ आज (शनिबार) चितवनको भरतपुरस्थित होटल सिराइचुलीमा भव्य रुपमा सम्पन्न भयो । यससँगै नेपालको डिजिटल क्रिएटर इकोसिस्टमलाई सशक्त बनाउने उद्देश्यसहित बहु–सहर कार्यक्रमको औपचारिक सुरुवात समेत दुतावासले गरेको छ ।

चितवनमा पहिलोपटक आयोजित यस कार्यक्रममा ८ सय भन्दा बढी युवा तथा उदीयमान डिजिटल क्रिएटर्सको सहभागिता रहेको आयोजकले जनाएको छ । दिनभर चलेको कार्यक्रममा दुईवटा हलमा समानान्तर रूपमा प्यानल छलफल, स्पटलाइट संवाद, प्रयोगात्मक कार्यशाला, प्रत्यक्ष प्रस्तुति तथा प्रमुख पिच टु सक्सेस कार्यक्रम सञ्चालन गरिएका थिए।

चितवन कार्यक्रममा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ, आनन्द बगरिया र सन्ध्या केसीजस्ता वक्ता तथा कलाकारहरूको उपस्थिति थियो। साथै युवाहरु माझ चर्चित 2B Gamer, Eva Giri, Shrishes Manandhar, Ekata Tandukar, Nepal 8th Wonder र The K-OS लगायतका क्रिएटर्सले पनि आफ्नो अनुभव साझा गरे। कार्यक्रमको समापन याबेश थापाको प्रत्यक्ष सांगीतिक प्रस्तुतीसँगै गरिएको थियो।

यस वर्षको विषयवस्तु भिजन टु भेन्चर डिजिटल कथाकथन र व्यावसायिक उद्यमबीचको दूरी घटाउने उद्देश्यले तयार गरिएको हो। प्रविधि, डिजिटल प्लेटफर्ममार्फत हुने आम्दानी र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समेट्दै, यस मेलाले क्रिएटर्सलाई आफ्नो सिर्जनात्मक प्रभावलाई दीर्घकालीन पेसा र व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्नेछ।

“क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ बनाउने अमेरिकाको प्रतिबद्धता झल्काउँछ,” नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भन्नुभयो– “ज्ञान, सीप र सञ्जाल विस्तारमार्फत हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई सहयोग गरिरहेका छौँ। नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावमा मात्र सीमित नराखी अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारमा सफल हुने अवसरतर्फ अघि बढाउन हामी प्रतिबद्ध छौँ।”

सन् २०२३ मा सुरुवात भएको क्रिएटर्स मेला हाल चौथो संस्करणमा पुगेको छ र यो संस्करण पहिलो पटक नेपालमा आयोजना भइरहेको हो।
क्रिएटर्स मेला २०२६ माघ १० गते नेपालगन्जमा निरन्तरता पाउनेछ भने माघ १६ र १७ गते काठमाडौंमा दुईदिने फिनाले आयोजना गरिनेछ। काठमाडौं कार्यक्रमको मुख्य आकर्षण पिच टु सक्सेस रहनेछ, जहाँ छनोट गरिएका क्रिएटर्सले नेपालका अग्रणी कर्पोरेट नेतृत्वसमक्ष आफ्ना व्यवसायिक अवधारणाहरू प्रस्तुत गर्दै प्रत्यक्ष प्रतिक्रिया र मार्गदर्शन प्राप्त गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>