राजनीति
‘कांग्रेसको नेतृत्वमा सुशासन र परिर्वतन होस् भन्ने जेनजीको माग सम्बोधन गर्नुपर्छ’

काठमाडौँ, पुस २७
नेपाली कांग्रेसका नेता गुरु घिमिरेले विशेष महाधिवेशनमा हुने हरेक छलफलमा प्रत्यक्ष सहभागी भइ महाधिवेशनलाई उत्सवमार्फत ठीक दिशावोध गर्ने कार्यमा सक्रिय हुन आह्वान गर्नुभएको छ ।
भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेता घिमिरेले भन्नुभयो, “नयाँ कार्यदिशा र नीति तय गरौँ, विधानमा संशोधन गरौँ, महाधिवेशन माग्दा राखेका विषय सम्बोधन गरौँ ।”
यस्तै कांग्रेस नेत्री पुष्पा भुसालले महाधिवेशनमार्फत तय हुने नीति र नेतृत्वले युवा पुस्ता विदेश पलायन तथा महिला हिंसामा पर्ने अवस्थाको अन्त्य गर्ने सन्देश दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “महाधिवेशनबाट विश्ेवश्वरप्रसाद कोइरालाको विचारबाट खडा भएको इतिहास र सङ्घर्षलाई ऊर्जाका साथ अघि बढ्दै लोकतान्त्रिक विचारका साथ अघि बढ्ने छ, वाम गठबन्धनबाट मुक्त गर्नेछ, नयाँ जोसका साथ कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नेछ ।”
नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई नेताको पार्टी नभइ नीति र संस्थागत पार्टी बनाउन ठूलो शक्तिका रुपमा विशेष महाधिवेशन बोलाइएको बताउनुभयो । नेता प्रदीप पौडेलले जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई कांग्रेसको नेतृत्वमा परिवर्तन गर्न सन्देश दिएकाले त्यो पक्षलाई महाधिवेशनले प्राथमिक सूचिमा राखेर निर्णय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “जेनजी आन्दोलनले कांग्रेसलाई खबरदारी गरेको छ, त्यसैले हामीले केही त्रुटि सुधार गरी अघि जानुपर्छ, लोकतन्त्र संस्थागत गर्ने र सुशासन कायम गर्ने सन्दर्भमा सशक्त भएर आउ भनेको छ ।”
नेता शुक्रराज शर्माले कांग्रेसलाई सुधार गरेर स्थापनाकालको जस्तो बनाउन आवश्यकता औँल्याउँदै त्यसबारेमा अहिले गम्भीर बहस र छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नीतिगत सुधार गरी कांग्रेसलाई बलियो बनाउन तथा नेतृत्व पक्षलाई सुधार गरी युवा पुस्तालाई नेतृत्व प्रदान गर्न जरुरी रहेको विचार प्रकट गर्नुभयो ।
नेता देवराज चालिसेले पार्टीको विशेष महाधिवेशन कांग्रेस पार्टीसँग मात्रै नभई जेनजी विद्रोह, देशको राजनीति, नवनिर्माण र परिर्वतनसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्तासँग सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टिकरणको सुरुआत भयो, चुनावमा हुने स्वार्थ प्रेरित गठबन्धनले हामीलाई कहाँ पु¥याउछ ?” नेपाली कांग्रेस बेल्जियम जनसम्पर्क समितिका पूर्वअध्यक्ष सीता सापकोटाले विशेष अधिवेशनमार्फत पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणले विदेशमा रहेका लाखौँ युवा जनशक्तिलाई स्वदेश फर्काउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
























