राजनीति
फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः रिजाल

काठमाडौं, पुस २६-
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले आउँदो फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् । संविधान र लोकतन्त्र दुवैको रक्षाका निम्ति पनि तोकिएको मितिमा निर्वाचन गर्नेपर्ने उनले जिकिर गरे ।
शनिबार (पुस २६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानलाई पूर्ण रूपमा क्रियाशील गराउन प्रतिनिधिसभा चाहिने भएकाले पनि निर्वाचन गर्नैपर्ने बाध्यकारी अवस्था रहेको तर्क गरे ।
“नयाँ अभिमत आवश्यक छ । नयाँ अभिमत लिनलाई फागुन २१ को चुनावमा जानुपर्दछ । फागुन २१ मा चुनाव सम्पन्न गर्यौँ भने फर्केर आएको प्रतिनिधिसभा क्रियाशील भएपछि संविधान पूर्ण रूपमा क्रियाशील हुन्छ,” उनले भने, “अहिले अरू केही पनि अलमलको काम गर्यौँ भने संविधानले पनि काम गर्न नसक्ने अवस्था आउन सक्छ ।”
उनले अगाडि भने, “यो संविधान जोगिने, लोकतन्त्र जोगिने अरूले हुन्न । त्यसैले निर्वाचनमा जानु नै उपयुक्त हुन्छ ।” नेता रिजालले संविधानमा निर्वाचन प्रणालीलगायत विषयमा परिमार्जन गर्न आवश्यक समेत बताए ।
























