राजनीति
अरनिको पाँडेले पनि लिए रास्वपाको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता

काठमाडौं , पुस २१ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट योजना आयोगका पूर्व सदस्य तथा रास्वपाका केन्द्रीय सदस्य डा.अरनिको पाँडेले नाम फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो (आइतबार) राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ । मलाई बन्दसूचीमा पुर्याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनेतिर ध्यान दिनेछु ।’
आफू सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने काममा लाग्ने उनले बताएका छन् ।
पाँडेसँगै रास्वपामा बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ ।
























