राजनीति

रास्वपामा समानुपातिकबाट उम्मेदवारी फिर्ताको घोषणा जारी,गायक प्रकाश सपुतपनि छलफलमा

Banner

काठमाडौं,पुस २०-

रास्वपाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ताको घोषणा गर्ने क्रम चलिरहेको छ । शनिबार साँझसम्म पाँच जनाले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।
पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । गायक प्रकाश सपुतले पनि पार्टीका नेताहरुसंग छलफलमा रहेको बताएका छन । उनले भनेः ‘अहिलेसम्म नाम फिर्ता लिएको छैन,के गर्ने भन्ने बिषमा पार्टी पंतिसंग छलफलमा छु ।’

अन्य केही उम्मेदवारले नाम फिर्ता लिने भनेर पार्टी नेताहरूलाई जानकारी दिएका छन् । उनीहरूले नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । नाम फिर्ता लिन २८ पुसलाई तोकिएको छ ।

संविधानले प्रतिनिधिसभामा उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि समानुपातिक प्रणालीको व्यवस्था गरेकामा रास्वपाले नेताका आफन्त, निकटस्थ लगायतका पहुँचवालालाई उम्मेदवार बनाएको भन्दै सार्वजनिक रूपमा आलोचना भएको थियो ।

रास्वपाका प्रवक्ता मनीष झाले सार्वजनिक रूपमा प्रश्न उठेपछि समानुपातिक सूचीमा रहेका केही उम्मेदवारहरूले नाम फिर्ता लिने निर्णय गरेको बताएका छन । ‘ज–जसका बारेमा प्रश्न उठिरहेको छ, उहाँहरूले फिर्ता लिनु भनेको जनभावनाको कदर हो,’ उनले भने ।

नाम फिर्ता लिनेमा बालेन्द्र शाह र कुलमान घिसिङ पक्षबाट सिफारिस भएका उम्मेदवार रहेको झाको भनाइ छ । उम्मेदवारी फिर्ता लिनेहरूका सम्बन्धमा आइतबार केन्द्रीय समिति बैठकमा छलफल हुने पनि उनले जानकारी दिए । समानुपातिक उम्मेदवारले नाम फिर्ताको घोषणा गरेको विषयमा समेत छलफल गर्न रास्वपाले आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>