राजनीति
वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ,पुस १५-
नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू आजको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् । घिमिरेले देशप्रति अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य सर्त भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट मुलुकका आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेका छन्। यही कारणले आफू संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएका छन् ।
‘पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।’ उनले लेखेका छन् ।
किन छाडे ?
घिमिरे यस पटक काठमाडौंमा भएको नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार थिए। तर रूपन्देहीकै भूगोलका उपाध्यक्ष विष्णु पौडेलले उनलाई टिकट दिन सकेनन् । एमाले केन्द्रीय सदस्यमा रोकिएपछि उनी असन्तुष्ट थिए उनले उपाध्यक्ष पौडेललाई भेटेर आफ्नो असन्तुष्टि पोखेका थिए ।
तर उपाध्यक्ष पौडेलले उनीसँग माफी मागे। पौडेलले माफी माग्दै अब फागुन २१ को चुनावमा टिकट दिलाइदिने भन्दै घिमिरेलाई फकाउने प्रयास गरे। तर घिमिरेले अब एमाले र विष्णु पौडेलले आफूलाई टिकट दिनुनपर्ने बताउँदै उनी हिँडेका थिए।
उनी २०७४ सालको स्थानीय चुनावमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर भएका थिए । त्यसपछि २०७९ सालमा रूपन्देही क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।
तर अब यस पटक एमाले छाडेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् । उनले अब आफू रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनाव लड्ने अनौपचारिक घोषण गरेका छन् । उनलाई रास्वपाले पनि पौडेलविरूद्ध खडा गर्न नै पार्टीमा तान्न लागेको बताएका छन् ।
घिमिरे तिलोत्तमा नगरपालिकाका मेयर हुँदा नगर सफा, स्वच्छ र हेर्न लायक बनाएका थिए । उनी कोरियामा रोजगारी गरेर आएपछि राजनीतिमा लागेका हन् । काठमाडौं महानगपालिकाका मेयर बालेन शाहले समेत उनको कामको प्रशंसा र तारिफ गरेका थिए ।
बालेनको प्रशंसा पाएका उनै घिमिरेले पनि एमाले उपाध्यक्ष पौडेललाई भेटेर यसअघि नै आफू रूपन्देही २ बाट चुनाव लड्ने बताइसकेका छन् । आफू रूपन्देही २ बाट उठ्ने तयारीमा रहेकोले पौडेललाई घिमिरेले समानुपातिक या अर्को क्षेत्रमा जान काठमाडौं नै आएर सुझाएका थिए।
























