Breaking News

इण्डो नेपाल टी–२०ः चितवन र एपीएफ फाइनलमा प्रवेश

Banner

चितवन, पुस १२–
शसस्त्र प्रहरी बलको एपीएफ क्लव र घरेलु टोली चितवन क्रिकेट क्लव इन्डो नेपाल टी–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको खेलमा एपीएफले भारतको दिल्ली वन्डर्स क्रिकेट क्लब र चितवनले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा एपीएफले दिल्ली वन्डर्सलाई १२५ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । दीपक बोहोरा, प्रज्वल शाही र कप्तान सुमित महर्जनको अर्धशतकीय पारीमा एपीएफले ४ विकेटको क्षतिमा २५० रनको विशाल योगफल तयार पारेको थियो । बोहोरा ९७ रन, शाहीले ७५ र महर्जनले ६५ रन बनाए ।
दिल्लीका हर्षित सेठ्ठीले ४ ओभरमा ३४ रन खर्चिदै ३ विकेट लिए भने विवेक धामीले ३१ रन खर्चिदै एक विकेट लिए ।
जवाफमा दिल्ली १५.४ ओभरमा १२५ रनमै अलआउट भयो । विशाल पाण्डेले सर्वाधिक अविजित ४० रन बनाए । अंकुर कौशिकले २५ र मोहम्मद कैफले १९ रन बनाए ।
दिल्लीलाई अलआउट गर्न अविशेष गौतमले ४ ओभरमा १७ रन मात्र खर्चिदै ह्याट्रिकसहित ५ विकेट लिए । दिनेश अधिकारीले २६ रन खर्चिदै २, भुवन कार्की र सलहुदिन खानले समान एक–एक विकेट लिए । एपीएफका दीपक बोहोरा प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै शनिबार नै भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली चितवनले त्रिभुवन आर्मी क्लबलाई ७ विकेटले पराजित गर्दै उपाधि भिडन्त पक्का ग¥यो । आर्मीले दिएको १४० रनको लक्ष्य चितवनले १३.२ ओभरमा ३ विकेट गुमाउँदै पुरा ग¥यो । चितवनका लागि दीपक प्रसाद डुम्रेले अविजित ५८ रन बनाए । शुभ कंशकारले २६, सन्दीप केसीले अविजित २५ र रोशन झाले २४ रनको योगदान दिए ।
आर्मीका लागि दुर्गेश गुप्ताले ४ ओभरमा ३३ रन खर्चिदै २ विकेट लिए । नरेन साउदको नाममा एक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मी ९ विकेटको क्षतिमा १३९ रन बनायो । तृतराज दास सर्वाधिक ४९ रन बनाए । पवन कार्कीले २४ रनको योगदान दिए ।
चितवनका दीपेश श्रेष्ठले ४ ओभरमा ३३ रन खर्चिदै ३ विकेट लिए भने नरेश प्रधानले ४ ओभरमा १५ रन खर्चिदै २ विकेट लिए । विपिन खत्री, दीपेश कंडेल र गौतम केसीले समान एक–एक विकेट लिए ।
चितवनका दीपक डुम्रे प्लेयर अफ द म्याच घोषित भए । फाइनल खेल आइतबार दिउँसो हुनेछ । त्यसअघि विहान तेस्रो स्थानका लागि दिल्ली वन्डर्स र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>