Breaking News

सौराहामा सुरु भयो १९औं हात्ती महोत्सव, मुख्यमन्त्री बानियाँले गरे उद्घाटन

Banner

चितवन, पुस ११–

चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबारदेखि १९औं संस्करणको हात्ती महोत्सव सुरु भएको छ ।

क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा सुरु भएको महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समुद्घाटन गर्नुभयो । हात्ती महोत्सवको विषयमा पछिल्लो समय बिरोधको आवाज उठेको विषयमा बोल्दै मुख्यमन्त्री बानियाँले महोत्सव आयोजना गर्नुलाई अन्यथा नलिन पशु अधिकारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

महोत्सवको समुद्घाटनको अवसरमा संरक्षणकर्मी र नेपाल टेलिभिजनका संवाददाता अनिल ढकाल, बखान पुस्तकका लेखक तथा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली सम्मानित भए । महोत्सवको पहिलो दिन हात्ती मैत्री फुटबल पेनाल्टी सुटआउट खेल खेलाईएको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको महोत्सव पुस १३ गतेसम्म चल्ने छ ।

हात्ती महोत्सवमा हात्ती मैत्री प्रतियोगिताहरू, पालिकास्तरीय डुंगा दौड प्रतियोगिता, हात्तीको शृंगार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम रहेको क्षेत्रीय होटल संघका महासचिव महेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने छ । महोत्सव अवधिमा सौराहाका होटल तथा रेष्टुरेण्डमा खाना र आवासका लागि १० प्रतिशत छुट दिने आयोजकले जनाएको छ । क्रिसमसको बेलामा विदेशी पर्यटकको बसाई लम्ब्याउनका लागि सौराहामा वि.सं २०५५ सालबाट हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको हो ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, मुख्य सचिव, पर्यटन मन्त्रालयका सचिव, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक गुणराज थपलियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सवको समुद्घाटन अघि झाकी सहितको र्‍याली निकालिएको थियो । र्‍यालिमा उत्कृष्ट भएका झाकी समूहलाई नगदसहित सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>