चितवन विशेष
अनेरास्ववियु बालकुमारी कलेजकोे आयोजनामा दोस्रो संस्करणको अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न

भरतपुर,पुस १०-
अनेरास्ववियु क्याम्पस कमिटी, बालकुमारी कलेजको आयोजनामा दोस्रो संस्करणको अन्तरकलेज फुटसल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा खेलाडिले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गरेका थिए।
प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बालकुमारी कलेजले उपाधि हात पार्न सफल भएको छ भने विरेन्द्र बहुमुखी क्याम्पस उपविजेता बनेको छ। खेल अवधिभर विद्यार्थी खेलाडीहरूको जोश, अनुशासन र खेल भावना प्रशंसनीय रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका सचिव रचना सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा उहाँले विधार्थीहरुलाई यस्तो गतिविधिहरू मार्फत संगठमा आबद्ध गर्नेछ भन्ने भाव व्यक्त गर्नुभयो। प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) चितवनका अध्यक्ष कमलराज पाठकले विद्यार्थीहरूलाई खेलकुदले अनुशासन, नेतृत्व र एकताको भावना विकास गर्ने उल्लेख गर्नुभयो।
यस्तै पार्टी सचिवालय सदस्य तथा विद्यार्थी फाँट प्रमुख अनोज जोशी, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य प्रशान्त सुवेदी, अनेरास्ववियुका विभिन्न तहका नेताहरू तथा राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्लाका संयोजक सन्तोष श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने बालकुमारी कलेज प्रशासनप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै प्रतियोगिताका प्रायोजक शुभ राशि ल्याङवेज सेन्टर प्रा. लि. ,अशिम ट्राभल्स एण्ड टुर्स प्रा.लि र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस चितवन प्रति आभार व्यक्त गरिएको छ।
कार्यक्रम संयोजक अनिश दुलालले प्रतियोगितामा सहभागी सबै टिम, निर्णायक, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ व्यवस्थित र वृहत् खेलकुद कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
























