देश/प्रदेश
भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने

नेपालगञ्ज, पुस ३ –
भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण हुने भएको छ । यसअघि एक वर्षको बच्चाको परीक्षण गरेर सिकलसेल थाहा पाउने उपकरण अस्पतालमा थियो ।
अहिले नयाँ र अत्याधुनिक उपकरण ल्याइएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले योसँगै बच्चा जन्मेको २४ घण्टामा सिकलसेल परीक्षण गरी रिर्पोट लिन सकिने जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले विसं २०७९ मा खरिद गरेको उक्त उपकरण बुटवलबाट ल्याएर सञ्चालन गरिएको उल्लेख गर्दै पछिल्लो दुई दिनमा चार जना नवजात शिशुको परीक्षण भएको जानकारी दिनुभयो ।
“यो उपकरण सम्भवतः नेपालमा पहिलोपटक भेरी अस्पातलमा सञ्चालनमा ल्याइएको हो”, डा सुवेदीले भन्नुभयो । उहाँका अनुसार यसबाहेक भेरी अस्पताल नेपालगञ्जमा सिकलसेल एनिमियाका लागि १६ शय्याको सिकलसेल वार्ड सञ्चालनमा ल्याइएको छ । बिरामीको रगत परीक्षणका लागि ‘डेकेयर’ सेन्टर पनि सञ्चालनमा रहेको मेसु सेवेदीले जानकारी दिनुभयो ।
भेरी अस्पतालका सिकलसेलसम्बन्धी जानकार डा राजन पाण्डेले यो रोग समयमा पत्ता नलाग्दा कतिपय नवजात शिशुको अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै नवजात शिशुमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधि सेवन गराउनुपर्ने जानकारी दिनुभयो ।
डा पाण्डेले समयमा समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने जानकारी दिँदै भन्नुभयो, “बच्चा जन्मेको २४ घण्टामा परीक्षण गरेर समस्या छ वा छैन निश्चित गर्न सकिन्छ । यो सहज र प्रभावकारी विधि भएकाले ढुक्क भएर शिशुको परीक्षण गर्न/गराउन सकिन्छ ।” डा पाण्डेले थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको बताउँदै भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुने जानकारी दिनुभयो ।
बच्चा जन्मदै सिकलसेल देखिएमा नौ महिना भएपछि पहिलो दादुरारुबेला खोप लगाउनाले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमियालगायत अन्य हेमोग्लोबिनोप्याथी भए/नभएको थप पुष्टि गर्न सकिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । डा पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि जनचेतना आवश्यक रहेकामा जोड दिँदै पश्चिम नेपालमा सिकलसेलको समस्या थारुबाहेक अन्य समुदायमा पनि विस्तारै देखिन थालेको जानकारी दिनुभयो । रासस
























