राजनीति

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

Banner

काठमाडौं,मंसिर २८-

नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा निर्वाचन प्रक्रिया अघि बढेसँगै उम्मेदवार छनौटमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएपछि पहिलो चरणमा पदाधिकारी टुंग्याउन लागिएको छ। निर्वाचन हुने भएपछि दुवै समूहका नेताहरू टीम मिलाउन जुटेका छन्।

पहिलो दिनको बन्द सत्रपछि आफ्नो प्यानल मिलाउन वरिष्ठ नेता पोखरेल पक्ष थापा गाउँको सम्पर्क कार्यालयमा जुटेको छ। पोखरेल पक्षले युवाहरूलाई अगाडि सार्दै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेको छ।

स्रोतका अनुसार पोखरेल समूह महासचिवमा वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई उठाउने करिब पक्का गरेको छ । दशौँ महाधिवेशनका दुई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य केन्द्रीय नेतृत्वबाट बिदा हुँदै गर्दा पाण्डे महासचिवमा भिड्न करिब करिब तयार भएका छन् ।

‘सुरेन्द्र पाण्डेको नाममा करिब सहमति जुटेको छ, उहाँलाई अघि सार्ने विषयमा सबै नेताहरू तयार हुनुहुन्छ,’ थापागाउँ बैठकमा सहभागी एक नेताले भने, ‘उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा छलफल भइरहेको छ ।’ पाण्डे महासचिवमा अघि सर्ने भएपछि वर्तमान सचिव योगेश भट्टराई उपमहासचिवमा उम्मेदवार हुनेछन् । यस्तै गोकर्ण विष्ट उपाध्यक्षमा उठ्ने करिब सहमित जुटेको छ ।

यद्यपि पोखरेल पक्ष ओलीले आफ्नो प्यानल घोषणा नगरेसम्म नगर्ने स्थितिमा देखिन्छ । पोखरेल पक्षको छलफलमा उपाध्यक्ष सुरेन्द्र पाण्डे,अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे केन्द्रीय सदस्य रचना खड्का लगायतका नेताहरू छन्। सचिव योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतका नेता पनि सहभागी थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>