मकवानपुर
हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

हेटौडा,मंसिर २१-
हेटौंडा बजार क्षेत्रको मुख्य सडकमा ५ सय ३१ संरचना शनिबार एकै दिन भत्काइएका छन् । डिभिजन सडक कार्यालय हेटौंडाले बिहान झिसमिसेदेखि साँझसम्मै डोजर चलाएर संरचना भत्काएको हो । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको पसल रहेको भवन सबैभन्दा पहिले भत्काइएको थियो । संरचना हटाउन कडा सुरक्षाबीच आधा दर्जन डोजर प्रयोग गरिएको थियो । रातोमाटेदेखि चौकीटोलको लोकप्रिय होटलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका संरचना भत्काइएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
सडक दायाँबायाँका संरचना हटाउने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । हेटौंडा बजार क्षेत्रमा ‘सडक अतिक्रमण गरी बनाइएका संरचना’ भत्काउने भन्दै सूचना सार्वजनिक भएपछि त्यसविरुद्ध १६ मंसिरमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिटमाथि सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले ‘सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नू, राख्न लगाउनू’ भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेर २६ मंसिरमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो । अदालतको आदेश नसुनेको र पत्र पनि नआएको भन्दै डिभिजन सडक कार्यालयले संरचना भत्काएको हो ।
सडकको सीमा क्षेत्रभित्र पर्ने संरचना हटाउने कोसिस गर्दै आएको तर पहिले नसकिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘०२१ सालको राजमार्ग ऐनले सडकको सीमा क्षेत्र २५ गज तोकेको थियो,’ उनले भने, ‘पहिलादेखि नै सडक सीमाका संरचना हटाउन लागिरहेका थियौं तर अदालती मुद्दामामिलाका कारण रोकिँदै आएको थियो ।’
सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म ६.३ किमि सडक खाली गराउनुपर्ने थियो । त्यस्तै बुद्धचोकदेखि सामरी पुलसम्मको ३.२ किमि सडक त्रिभुवन राजपथभित्र पर्छ । ‘यिनै दुई राजमार्गभित्रको ९.५ किमिभित्र रहेका घरटहरा हटाएर सडक चौडा पार्न लागिएको हो,’ जैसीले भने । उनका अनुसार २५ गज दायाँतर्फ २ सय ३४ र २५ गज बायाँतर्फ २ सय ९७ वटा घरटहरा छन् ।
सडक सीमा क्षेत्रभित्रका संरचना ढिलोचाँडो हटाउनुपर्ने भएकाले शनिबार काम सुरु गरेको सडक विभागका महानिर्देशक जैसीको भनाइ छ ।
























