चितवन विशेष

यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको गुनासोः नागरिकता पाउन अझै कठिन

Banner

चितवन, मंसिर २०–

यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरुले अझै पनि नागरिकता पाउन कठिन भइरहेको गुनासो गरेका छन् ।
चितवनको भरतपुरमा आज (शनिबार) भएको यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालको १८औं वार्षिक साधारणसभामा बोल्दै उनीहरुले संविधानमा लैंगिक पहिचानको आधारमा नागरिकता दिने उल्लेख भए पनि व्यवहारिक रुपमा नागरिकता पाउन कठिन भइरहेको बताएका छन् ।

यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालकी संस्थापक तथा निवर्तमान अध्यक्ष मनिषा ढकालले संविधानमा प्रष्ट उल्लेख भए पनि अझै नागरिकता पाउन कठिन भइरहेको बताइन् । ‘मेरो नागरिकतामा ढाका टोली लगाएको तस्विर छ, तर लिंग परिवर्तन गरेर नागरिकता बनाउन जान कठिन छ, यसबाट धेरैले परिवर्तित लिंक अनुसारको नागरिकता लिन सकेका छैनन्’–ढकालले भनिन् । उनले निवेदन दिए पछि नागरिकता लिन ३ वर्षसम्म लाग्ने अवस्था रहेको भन्दै यसला लैंगिक पहिचानको आधारमा सहज गरिदिन माग गरिन् ।

मानव सचेत समाजकी अध्यक्ष नविना गुरुङले अझै पनि यो समुदायका व्यक्तिहरुले सहज रुपमा जीवन यापन गर्न कठिन रहेको भन्दै स्थानीय सरकारहरुले त्यसको सहजीकरण गरिदिनु पर्ने बताइन् । समाजले गर्ने भेदभावकै कारण यो समुदायका व्यक्तिहरु पछाडी परिरेको भन्दै अब संघर्ष गरेरै अघि बढ्ने बेला आएको बताइन् ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भौतिक पूर्वाधार विकास गरेर मात्रै नपुग्ने भन्दै सामाजिक र मानविय विकासमा महानगरले जोड दिएको बताए । ‘हामी बाटोघाटो निर्माणदेखि विभिन्न भौतिक निर्माणलाई प्राथमिकता दिएर अघि बढ्यौं, तर पूर्वाधार विकासले मात्र नहुने रहेछ, हामीले अब सामाजिक र मानविय विकासलाई जोड दिदैछौं’–उपप्रमुख अधिकारीले भने । उनले अब बजेट बनाउँदा पनि त्यसरी नै परिवर्तन भएको बजेटको आकार बनाउने बेला आएको बताए । उपप्रमुख अधिकारीले महानगरले यस्तै समुदाय र पछाडी परेका वर्गहरुलाई लक्षित गरी लागत साझेदारीमा कार्यक्रम गर्न बजेट विनियोजन गरिएको भन्दै कार्यक्रममा सहभागिताका लागि निवेदन दिन आग्रह गरे ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई परिवर्तित लिंक अनुसारको नागरिकता लिन कठिन रहेको स्वीकार गर्दै त्यसलाई परिवर्तन गर्न अझै आवाज उठाउन आवश्यक रहेको बताए । उनले संविधानमा नै उल्लेख भएको विषयलाई अझै पनि सहज व्यवस्थापन हुन नसकेको भन्दै सबै गम्भिर बन्न आवश्यक रहेको बताए ।

यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको महासंघ नेपालका अध्यक्ष राजु लामाले पछिल्लो समय स्थानीय सरकारहरुबाट पनि सकरात्मक सहकार्य हुन थालेकोमा खुशी व्यक्त गर्दै तीनै तहका सरकारलाई सहकार्यमा सहयोग गर्न आग्रह गरे । ९ वटा संस्थाबाट सुरु भएको महासंघमा हाल ७ प्रदेशका ३२ वटा संस्था आवद्ध रहेको लामाले बताए ।

कार्यक्रममा संस्थाकी राष्ट्रिय कार्यक्रम संयोजक सिम्रन शेरचनले संस्थाले गरिरहेका कार्यक्रम बारे जानकारी गराएकी थिइन् । कार्यक्रममा समुदायका लागि योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । महासंघकी महासचिव रुबिना लामालगायतले आफ्ना समुदायको समस्या बारे जानकारी गराएकी थिइन् । कार्यक्रममा भरतपुर महानगरपालिकाकी गैरसरकारी संस्था समन्वय शाखा प्रमुख पञ्चमाया तामाङलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>