चितवन विशेष
शिशु फर्टिलिटी क्लिनिकले स्थापना गर्यो शिशु होप फण्ड, आर्थिक अभावकै कारण आइभिएफबाट बन्चित हुन नपर्ने

कृष्ण आचार्य,
चितवन, मंसिर १७-
चितवनको भरतपुरमा रहेको शिशु फर्टिलिटी क्लिनिकले शिशु होप फण्ड स्थापना गरेको छ । आर्थिक अभावका कारण निःसन्तानपनको समस्या झेलिरहेका दम्पतीलाई लक्षित गरेर क्लिनिकले लायन्स क्लब अफ चितवन शिशु आइभिएफको सहकार्यमा फण्ड स्थापना गरेको हो ।
बुधबार आयोजित कार्यक्रम मार्फत क्लिनिकका सञ्चालकद्धय अविनाश भण्डारी र चिरन्जीबी ढकालले एक/एक लाख रुपैयाँ दिएर फण्डको स्थापना गर्नुभयो । लायन्स इन्टरनेशनल क्लव डिस्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाको उपस्थितीमा फण्डको शुभारम्भ गरिएको हो । सो अवसरमा बोल्दै सापकोटाले क्लिनिकले लायन्स क्लव अफ शिशु आईभिएफको सहकार्यमा निकै महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेन्टल हेल्थको कार्यक्रम लायन्सले विश्वव्यापी रुपमा सञ्चालन गरिरहेको छ । निसन्तापनको समस्याका कारण पनि धेरै मानिसहरुले मानसिक तनाव झेल्नुपरेको छ । यो अभियान मार्फत सन्तान नभएकाहरुलाई मातृत्वको चाहना पुरा हुने विश्वास छ ।’ पैसा तिरेर सेवा लिन नसक्नेहरुका लागि यो फण्डबाट सहयोग हुने र सचेतना फैलाउने कामले समाजमा जागरण पैदा हुने उहाँले बताउनुभयो ।
‘जति धनसम्पती कमाएपनि सन्तान नभएको पीडा सबैलाई हुने गर्दछ । नेपाली समुदायमा निःसन्तानपन भएकाहरुलाई हेर्ने दृष्टिकोण फरक हुने भएका कारणले पनि मातृत्वको चाहना सबैलाई हुने गरेको छ’–उहाँले भन्नुभयो । क्लिनिकका सञ्चालक भण्डारीले दश वर्षको निःसन्तानपनको संघर्षमा भोग्नुपरेका पीडा अन्य जोडीलाई नहोस भन्ने उद्देश्यले क्लिनिक स्थापना गरेर आइभिएफ सञ्चालन गरेको जानाकारी दिनुभयो । आगामी दिनमा कुनै पनि दम्पतीमा निःसन्तानपन हुने छैन भन्ने उद्देश्यले काम गरिरहेको भण्डारीले बताउनुभयो । क्लिनिकका सञ्चालक तथा लायन्स क्लव अफ चितवन शिशु आईभिएफका अध्यक्ष समेत रहनुभएका चिरञ्जीवी ढकालले तथ्यांक प्रस्तुत गर्दै विश्वमा करिव ६ जना मध्ये एक जनामा निःसन्तानपनको समस्या रहेको जानाकारी गराउनुभयो । ‘यो समस्या बर्सेनी बढ्दो छ । निसन्तानपनको समस्याका कारण धेरै जोडीहरु मानसिक रुपमा विक्षिप्त छन् । हेर्दा शारीरिक रुपमा सबल देखिन्छन् । बाहिर केही हुँदैन तर भित्र हृदय टुटेको हुन्छ’–उहाँले भन्नुभयो ।
क्लिनिक सञ्चालनको चार वर्षको अवधिमा दुई हजार बढीले सेवा लिएको र छ सय बढीले सन्तानको चाहना पुरा गरेको उहाँले बताउनुभयो । ‘जसलाई सन्तानको चाहना छ । तर आर्थिक अवस्थाले गर्दा आईभिएफ मार्फत उपचार गर्न सक्दैनन् । जसलाई आईभिएफ अन्तिम विकल्प हो उनीहरुलाई शिशु होप फण्ड बरदान सावित हुन्छ’–उहाँले भन्नुभयो ।
सो अवसरमा क्लिनिकका सञ्चालक सविना बजगाई, सुशिला ढकाल, लायन्स इन्टरनेशनल क्लव डिस्ट्रिक ३२५ आरका क्लस्टर चिफ जैमिन ढकाल, रिजन चेयर पर्शन बद्री घिमिरे, जोन चेयर पर्शन सन्तोष मझाकोटी लगायतको उपस्थिति रहेको थियो ।

























