राजनीति
एमालेले गर्यो प्रतिनिधि सभा पुनर्स्थापनाको रिट निवेदन पेस र दल दर्ता सँगसँगै
काठमाडौं, मंसिर ९-
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको रिट पेश र दल दर्ताको निवेदन सँगसँगै दिएको छ। मंगलबार एमालेले बिहानै निर्वाचन आयोग पुगेर दल दर्ता गर्यो भने आजै सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको रिट निवेदन पेस गरेको छ।
एमालेले पेस गरेको पुनर्स्थापनासम्बन्धी रिट दर्ता हुन बाँकी छ। निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार साँझसम्म रिट दर्ताको प्रक्रियामा जाने बताए। ‘हामीले आज प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट पेश गरेका छौं। बेलुकासम्म दर्ताको प्रक्रियामा अघि बढ्ला,’ उनले भने।
सरकार निर्वाचन गराउन उद्यत नै नरहेको बताउँदै आएको एमालेले आजै ६६ नम्बरमा प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। निर्वाचन विभाग प्रमुख नीरज आचार्यले एमाले नहुने चुनावमा पनि नदौडिने तर आफ्नो पार्टी संविधान, कानुनअनुसार अद्यावधिक गर्ने बताएका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले फागुन २१ गतेको निर्वाचनमा भाग लिने बताएका थिए। नागरिक दैनिकका प्रधान–सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दासँगै चुनावी तयारी गरिरहेको संकेत गरेका थिए।
अध्यक्ष ओलीले फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाएको पनि बताएका थिए। उनले निर्वाचन नभए त्यसको सम्पूर्ण दोष सरकारकै हुने जिकिर गरेका थिए। निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन भने प्रतिनिधिसभा पुनर्स्थापना नै रहेको ओलीको भनाइ छ।
























