चितवन विशेष

होटल व्यवसायीबाट जनक पौडेल उपाध्यक्ष, भट्ट र बराल सदस्यको उम्मेदवार

उवासंघ निर्वाचनको तात्यो माहोल

Banner

चितवन, मंसिर ६–

उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनमा होटल व्यवसायी संघ चितवनले उपाध्यक्ष पदका लागि जनक पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । संघको हालै सम्पन्न बैठकले उपाध्यक्षमा पौडेल, वस्तुगत तर्फ कार्यसमिति सदस्यमा कृष्ण भट्ट र उद्योगतर्फबाट कार्यसमिति सदस्यमा इमान्दु बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष कृष्ण भट्टले संघको तर्फबाट तीन जनालाई उद्योग वाणिज्य संघमा पठाउने सर्वसम्मत निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले तीनै जनालाई विजयी गराउन सम्पूर्ण होटल व्यवसायी लाग्ने पनि बताउनुभयो ।

उपाध्यक्ष पदका उम्मेदवार जनक पौडेलले आफूलाई उम्मेदवार बनाउने होटल व्यवसायी संघप्रति धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण व्यवसायीलाई सहयोगका लागि आग्रह गर्नुभयो । पौडेलले भन्नुभयो “व्यवसायीको नेतृत्वदायी संस्था उद्योग वाणिज्य संघमा होटल व्यवसायी साथीहरुले मलाई उपाध्यक्षमा पठाउने निर्णय गर्नुभएको छ, म संघमा आवद्ध सम्पूर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।” उहाँले उवासंघ चितवनमा आवद्ध सम्पूर्ण व्यवसायी साथीहरुलाई सहयोगका लागि अपिल समेत गर्नुभएको छ ।

आफू निरन्तर व्यवसायीहरुको हितमा लागेको भन्दै पौडेलले व्यवसायीका यावत समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिलेको परिस्थितिमा चितवनका व्यवसायीको धेरै समस्या छन्, तिनलाई मसिनोगरी केलाएर समाधान तर्फ लैजान मेरो उम्मेदवारी हो ।’ युवा व्यवसायी पौडेल संघमा निकै चर्चित अनुहार मध्ये एक हुनुहुन्छ । संघका उपाध्यक्ष पदमा उहाँको चर्चा निकै अघि बढेको छ ।

उद्योग वाणिज्य संघ चितवनको आगामी पुस १९–२१ मा नयाँ नेतृत्वको लागि अधिवेशन हुँदैछ । उक्त अधिवेशनमा व्यवसायीहरुबीच नेतृत्वमा को जाने भन्ने बहस शुरु भएको छ । संघको निर्वाचनमा प्रायः सर्वसम्मतभन्दा पनि निर्वाचनबाट नेतृत्व चयन हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>