Breaking News

केपी ओलीले समय नतोकेको भए रंगशाला बन्ने थिएनः क्यानका अध्यक्ष चन्द

Banner

काठमाडौं,कात्तिक ३०-

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानसहितको रंगशाला निर्माण परियोजना समयमै सम्पन्न हुनुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खेलेको निर्णायक भूमिकाको प्रशंसा गर्दै विशेष धन्यवाद दिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चन्दले ओली सरकारले तोकेको समयसीमा नभएको भए यो परियोजना अझै वर्षौंसम्म अलपत्र पर्ने सुनाए।

‘नेपाली क्रिकेटले वर्षौंदेखि देखेको सपना आज पूरा हुने क्रममा छ,’ अध्यक्ष चन्दले भने, ‘अन्तर्राष्ट्रिय जगतमा जस्तै नेपालमा पनि फ्लडलाइटमा डे/नाइट क्रिकेट होस् भन्ने सबैको आकांक्षा थियो। यो ऐतिहासिक दिनको सुरुवात भएको छ।’

उनले रंगशाला निर्माणमा पूर्ववर्ती सरकारको योगदानलाई स्मरण गर्दै भने, ‘म पूर्ववर्ती सरकार, विशेषगरी केपी ओली नेतृत्वको सरकारलाई धन्यवाद दिन चाहन्छु। जसले यो प्रोजेक्टलाई ठूलो महत्त्व दिएर १० महिनामा सम्पन्न गर्छु भनेर समयसीमा तोकिदियो।’ उनले थपे, ‘यदि उहाँले त्यो १० महिनाको समयसीमा नतोकेको भए, मलाई लाग्छ आज १५-१६ महिना भइसक्यो, यो परियोजना महिनौं र वर्षौंसम्म लाग्ने थियो।’

अध्यक्ष चन्दले खेलकुद मन्त्रालय र परिषद्को वर्तमान जनशक्ति र क्षमताले यति ठूलो परियोजना समयमा सम्पन्न गर्न नसक्ने देखेर क्यानले नै शहरी विकास मन्त्रालयमार्फत काम गराउन सुझाव दिएको खुलासा गरे। सोहीअनुसार काम हुँदा परियोजना सफल भएको भन्दै उनले शहरी विकास मन्त्रालयलाई पनि धन्यवाद दिए। साथै, उनले वर्तमान सरकारले पनि परियोजनाको दोस्रो चरणका लागि देखाएको उत्साह र सहयोगप्रति आभार प्रकट गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>