राजनीति
रास्वपाका नेताहरूले धमाधम पार्टी छोड्नुको कारण खोजौँः गणेश कार्की

काठमाडौं,कात्तिक २८-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूले धमाधम पार्टी छाड्नुको कारण खोज्न नेतृत्वलाई आग्रह गरेका छन् । सचिवालय सदस्य सन्तोष परियारले रास्वपा छोडेको घोषणा गरेलगत्तै कार्कीले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । कार्की संस्थापन इतर पक्षको नेताको रूपमा चिनिन्छन् । उनले नेतृत्वलाई सच्चिन भन्दै पार्टीभित्रका समस्याका समाधानहरू खोज्नुपर्ने तर्क गरे । पार्टी छोडेर जानेलाई आरोप लगाउनतिर नभएर पार्टीका समस्यका कारण खोज्न लाग्नुपर्ने धारणा व्यक्त गरे ।
उनले पार्टी एकल निर्णयमा चल्ने गरेको संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामूहिक प्रयास, सामूहिक निर्णयको अभ्यास गरौँ ।’ सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छोडेको प्रसंग निकाल्दै उनले अगाडि भने, ‘सांसद नै नभएका केन्द्रीय सदस्य डा। प्रभाव र हरिले छोडे । तिनले के नपाएर छोडे ? प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तिनलाई के भन्ने ?’
























