राजनीति

नक्खु कारागार पुगेर रवीन्द्रले भेटे रवि, डेढ घण्टा गरे गफ

Banner

काठमाडौं,कात्तिक २५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज (मंगलबार) ललितपुरस्थित नक्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। यस क्रममा रविसँग डेढ घण्टाभन्दा बढी समय कुरा गरेको मिश्रले जानकारी दिएका छन्।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डेढ घण्टाभन्दा लामो छाती खोलेर गरिएको गफको अन्त्यमा रविले भने, हाम्रो यो बाल्यकालदेखिको दाइभाइको गफ हो। खुब मजा आयो। अंकमाल गरेर गफ सुरु गरेका थियौँ, अंकमाल गरैरै टुंग्यायौँ।’ जेलमा रहँदा पनि रविको ऊर्जा र आत्मविश्वास देखेर आफू प्रभावित भएको मिश्रले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘आजको भेटमा रविको ऊर्जा, आत्मविश्वास र दृढता देखेर म असाध्यै खुसी भएँ। उनले भने, म यिनीहरूसँग लड्ने नै हो दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन् नि ! पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने सहकारी ठगी मुद्दामा जेल परेका हुन्। यद्यपि उनको मुद्दाको फैसला हुन बाँकी छ।

यस क्रममा मिश्रले रविविरुद्ध तत्कालीन (ओली) सरकारले प्रतिशोध साँधे पनि वर्तमान सरकारले त्यसो नगर्ने विश्वास पनि व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘धेरै अघि नै मैले भनिसकेको थिएँ, रविको केसलाई तात्कालीन सरकारले जसरी ह्यान्डल गर्‍यो, त्यो पूर्णतः प्रतिशोधबाट प्रेरित थियो। वर्तमान सरकारले प्रतिशोध साँध्ने छैन भन्नेमा म पूर्णरूपले विश्वस्त छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>