राजनीति
कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं,कात्तिक २४-
ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद सुमना श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेनजी अभियान्ता सुदन गुरुङबीचको सहकार्य टुटेको छ। यी चार जना केही समय अघिदेखि एउटै राजनीतिक दल गठनको तयारीमा जुटे पनि सोमबारदेखि भने उनीहरु तत्कालका लागि एउटै दलबाट हुने यात्रामा पूर्णबिराम लागेको छ।
एउटै राजनीतिक दल गठन गर्ने प्रारम्भिक सहमति भए पनि दलको नाम, भूमिका लगायतका विषयमा मतभेद गहिरिँदै गएपछि समूह विभाजन भएको हो।
स्रोतका अनुसार घिसिङ पक्षले पार्टीको नाम, नीति–दिशा र नेतृत्वको स्वरूपमा आफ्नो अडान नछोडेपछि बाँकी तीन नेताहरू सुमना, बालेन र सुदन अलग्गिने निर्णयमा पुगे।
कुलमानसँग छुट्टिएका तीन नेताले मंगलबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। उता कुलमानसहितको उज्यालो नेपाल दल पनि दर्ताका लागि मंगलबार नै निवेदन दिने तयारी छ। मङ्गलबारसम्म कुनै नाटकीय परिवर्तन नभए श्रेष्ठ,शाह र गुरुङको एउटा पार्टी भोलि दर्ता हुने बताइएको छ।
सुमना, बालेन र गुरुङले खोल्ने पार्टीमा जेन–जी अभियानमा घाइते भएका व्यक्ति या सहिद परिवारको तर्फबाट नेतृत्वमा पठाउने तयारी छ। पूर्वसांसद सुमनानिकटका अनुसार तीन नेताहरूसँगै सहकार्य गरेर जाने र तत्कालका लागि नयाँ नेतृत्व जेनजी नै राख्ने सहमति भएको छ।
























