खेलकुद
चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु

चितवन, कार्तिक २०–
चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको छ । आज भरतपुर महानगरपालिका–७, स्थित कृष्णपुरको मैदान एक कार्यक्रमकाबीच कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोग र चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम शुभरम्भमा ४६ विद्यालयबाट एक हजार भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । फिफा फुटबल फर स्कुल कार्यक्रमबाट बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने लक्ष्य रहेको छ ।
जस अन्तर्गत आज चितवनका ४६ विद्यालयलाई २०–२० थानको दरले फुटबल वितरण गरिएको हो । एन्फाले केही समय अघि आवेदन खुलाएर छनौट भएका विद्यालयलाई फुटबल वितरण गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । कार्यक्रममा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले देशका लागि उत्कृष्ट खेलाडी उत्पादनको लक्ष्यसहित फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु भएको बताए । यस कार्यक्रमले मेहेनत गर्न र अनुशासित हुन सिकाउने उनको भनाइ थियो ।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, एन्फाका उपाध्यक्ष दाबा लामा, दीपक खतिवडा, पुरुषोत्तम थापा, भरतबुद्ध थापा लगायत उपस्थित थिए । फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित यो कार्यक्रमले विद्यालय तहका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र नैतिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रमले ४ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलमार्फत अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैंगिक समानता र सामाजिक समावेशीताजस्ता जीवनोपयोगी सीप सिकाउने लक्ष्य पनि राखेको छ।
























