राजनीति

एकीकृत समाजवादीका सम्मानित नेता खनाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

Banner

भक्तपुर,कात्तिक १९-

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। खनाल मंगलबार राति अध्यक्ष ओलीसँग छलफल गर्न भक्तपुरस्थित गुण्डुमा पुगेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पदाधिकारी माओवादी केन्द्रसहित आठ दलबीच हुन लागेको एकतामा जाने भएपछि खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्री लगायतका नेताहरु असन्तुष्ट बनेका छन्। एकीकृत समाजवादीभित्र विवाद चुलिँदै गएपछि उनीहरु विभिन्न चरणमा आ-आफ्ना समूह छलफलमा जुटेका हुन्।

यता तीन दिन अघि नै दुई नेताबीच भेटघाट तय भएपनि अध्यक्ष ओलीको व्यस्तताका समय सारिएको थियो । दुई नेताबीचको छलफल सकारात्मक भएको एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले जानकारी दिए । अध्यक्ष ओली र खनालको भेटलाई एमालेका पहिलो पुस्ताका नेताबीचको सम्बन्ध सुधारको रुपमा हेरिएको उनको भनाई छ।

बस्नेतका अनुसार एमालेमा फर्किंदा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद के हुन्छ भन्ने विषयमा हाल कानुनी परामर्श भइरहेको छ । पदमा बहाल रहेकै अवस्थामा कोही जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्यागेर नयाँ दलमा प्रवेश गरेमा पद गुम्ने कानुनी व्यवस्था छ । त्यसलाई सहजीकरण गर्न पूर्वन्याधिवक्ता रमेश बडालसहितको टिमले काम गरिरहेको एमाले स्रोतले जानकारी दिएको छ ।

एकीकृत समाजवादी पार्टीलाई माओवादीसँग एकता गर्ने अध्यक्ष नेपालको निर्णयको अवज्ञा गर्दै एकीकृत समाजवादीकी पूर्वसचिवसमेत रहेकी झाँक्रीसहितको समूहले आज पत्रकार सम्मेलन गर्दैछन्। नेताहरु किसान श्रेष्ठ, अम्बर बहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना, अर्जुन राई लगायतका करिब १०० जना नेताहरुले एमालेमा फर्किएको घोषणा गर्ने तयारीमा छ । पत्रकार सम्मेलन आज बिहान होटल बसेरामा आयोजना गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>