देश/प्रदेश
विगतका कमजोरी स्वीकार गर्दै अघि बढ्छौँः पूर्णबहादुर खड्का

काठमाडौं, कात्तिक १०-
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पार्टीले विगतमा भएका कमी–कमजोरी स्वीकार गर्दै अघि बढ्ने बताएका छन् । सोमबार ९कात्तिक १०० पार्टी केन्द्रीय कार्यालय सानेपामा भ्रातृसंगठन नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनले विगतमा भएका कमजोरी स्वीकार गर्दै अघि बढ्ने बताएका हुन् ।
आफ्नो पार्टीले फेरि संविधानको रक्षाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे । चालु केन्द्रीय समिति बैठकबाट संविधान, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसा कायम गर्ने गरी आवश्यक निर्णय लिइने र मुलुकलाई समस्याबाट मुक्त गराइने उनको भनाइ थियो ।
उनले मुलुकलाई संकटबाट निकास दिन संयमित भएर अघि बढ्न पार्टीका युवालाई आह्वान समेत गरे ।
कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट मुक्त गराउन राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।
बृहत् एकताबद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, नेपाल राष्ट्रले विगतको इतिहासको कालखण्डजस्तै फेरि नपाली काग्रेसबाट अपेक्षा गरेको छ । आशा गरेको छ, भरोसा गरेको छ । हाम्रा विगतमा कमी–कमजोरीहरू भए होलान्, ती कमी–कमजोरीहरूलाई स्वीकार्छौं । नेपाली कांग्रेस संविधानको रक्षाका लागि, परिवर्तनको रक्षाका लागि, सार्वभौमसत्ता नेपाली जनताको अधिकारको रक्षा गर्ने कुरालाई शिरमा राखेर हामी बृहत् एकतासहित हामी अगाडि बढ्छौँ भनेर सभापति देउवाले हामी सबैलाई प्रेरित, उत्साहित गर्दै उहाँले त्यो दिनको केन्द्रीय समिति बैठक स्थगन गरेर हामीलाई तपाईंहरू सामूहिक रूपमा एकताबद्ध भएर केन्द्रीय समितिले ऐतिहासिक निर्णय गर्नुस्, जसले भोलि नेपाली जनतामा, नेपाली समाजमा, नेपालका राजनीतिक दलहरूमा विगतमा जस्तै अझै पनि नेपाली कांग्रेसमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता, त्यो योग्यता, संयमता, त्यो धैर्यशीलता र सबैलाई सँगै लिएर जान सक्ने त्यो उद्धार आज पनि नेपाली कांग्रेसमा त्यो हिजोभन्दा जब्बरजस्त रूपमा देखिएको छ भन्ने सन्देश दिनु छ । न्युज एजेन्सी नेपाल
























