राजनीति
जनताले नचिनेका व्यक्ति प्रधानमन्त्री, मन्त्री बनेका छन्ः सूर्य थापा

अर्घाखाँची,कात्तिक १०-
नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले मुलुकमा अहिलेको अवस्था अस्थिर र अराजक भएको भन्दै संविधानले नचिन्ने बताएका छन । एमाले अर्घाखाँचीले सोमबार आयोजना गरेको सद्भाव र्यालीलाई सम्बोधन गर्दै थापाले जनताको बलमा प्रतिनिधिसभा पुनस्स्थापना हुने विश्वास व्यक्त गरे ।
संविधानले नचिनेका,जनताले नचिनेका व्यक्ति प्रधानमन्त्री र मन्त्री बनेको थापाको टिप्पणी छ । ‘यो रुल अफ ल होइन, यो हुल अफ ल हो । हुल अफ ल मुर्दावाद ! हामी कानूनी शासनको पक्षमा छौं’, उनले भने, ‘हामीले दुईवटा निर्णय गरेका छौं । पहिलो, प्रतिक्रान्तिलाई परास्त गर्न जनआन्दोलन र जनशक्तिको बलमा प्रतिनिधिसभा पुनस्स्थापना गर्ने । दोस्रो, जनताको शक्तिको बलमा संविधानलाई पुन लयमा फर्काएर यो देशलाई जनताद्वारा बनाइएको संविधानबाट शासित बनाउने ।’ कार्यक्रममा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिलाई अविलम्ब कानूनी कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।
उनले भने,‘धैर्यताको बाँध अझै टुटेको छैन । कानूनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन्’, मुख्यमन्त्री आचार्यले भने । संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनले आवश्यकता पनि औंल्याए । उनले भने, ‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुन जरुरी छ ।’
सम्बोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको बताए ।
























