राजनीति
जेनजी विद्रोहले भ्रष्टाचारीहरूलाई मुक्का प्रहार गर्यो, अब नयाँ राजनीतिक विकल्प तयार गरौँः बाबुराम

काठमाडौं,कात्तिक ७-
नयाँ शक्ति (नेसपा) का नेता डा. बाबुराम भट्टराईले हालको नेपालको अन्तरिम अवस्थालाई ‘पुरानो मरेको तर नयाँ नजन्मिसकेको राक्षसहरूको काल’ भन्दै त्यसबारे सबैले गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएका छन्। प्रसिद्ध प्रगतिशील चिन्तक आन्तोनियो ग्राम्सीलाई उद्धृत गर्दै भट्टराईले वरिष्ठ भारतीय पत्रकार भारत भूषणले दिएको उक्त उपमा नेपालको वर्तमान राजनीतिक अवस्थासँग सान्दर्भिक रहेको बताएका छन्।
फेसबुकमार्फत उनले लेखेका छन्, “हामी नेपालीले त्यति धेरै हीनतावोध पाल्न जरूरी छैन। ऐतिहासिक रूपले लोकतान्त्रीकरणको प्रक्रियामा केही ढिलो भए पनि बि।सं। २००७ देखि २०७२ सम्म ठूला बलिदानीपूर्ण संघर्षहरू गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएका छौँ।”
उनका अनुसार अहिलेको जेन–जी विद्रोहले समाजमा फैलिएका भ्रष्टाचारी धमिराहरूमाथि जबर्जस्त मुक्का प्रहार गरेको छ। “अब सबै अग्रगामी, देशभक्त, लोकतान्त्रिक शक्तिहरू एकजुट भएर भरपर्दो नयाँ राजनीतिक विकल्प तयार गर्नु छ,” भट्टराईले लेखेका छन्।
भट्टराईले जेन–जी युवाहरू, नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू, पुराना दलभित्रका अग्रगामी पक्षहरू र नागरिक अगुवाहरूले सुशासित र समृद्ध नेपालको निर्माणका लागि सक्रिय हुनुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, “सुशासित समृद्ध नेपाल हाम्रै पालामा अवश्य बन्छ, बनाउनु पर्छ।”
























