राजनीति
कांग्रेस केन्द्रीय समिति बैठकको मिति सारियो

काठमाडौं, असोज २५-
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २८ गते बस्ने भएको छ । शनिबार (असोज २५) पार्टी कार्यालय सानेपामा भएको पदाधिकारीको छलफलबाट केन्द्रीय समितिको बैठकको मिति दुई दिन पर सार्ने निर्णय गरिएको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।
तयारी नपुगेको भन्दै असोज २६ गतेका निम्ति निर्धारित केन्द्रीय समितिको बैठकको मिति दुई दिन पर सारिएको छ । तीन दिनसम्म बसेको कार्यसम्पादन परामर्श समितिसहितको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशनका विषयमा एकमत हुन सकेन । सोही कारण केन्द्रीय समिति बैठकको मिति सारिएको हो ।
प्रवक्ता महतले केन्द्रीय समिति बैठकअघि औपचारिक र अनौपचारिक छलफल गरेर महाधिवेशनका विषयमा साझा धारणा बनाइने बताए । छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा सबैको मत भए पनि व्यावहारिक मितिका विषयमा निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।
प्रवक्ता महतले कांग्रेस केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको मिति तोक्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा आवश्यक निर्णय गर्ने बताए । उनले निर्वाचनको तयारीका विषयमा अन्तरिम सरकारले गम्भीरताका साथ काम नगरेको आफूहरूको अनुभव रहेको उल्लेख गरे ।
























