राजनीति
मिराजद्वारा ‘ग्रान्ड शक्ति’ प्रदर्शनको घोषणा

काठमाडौं, असोज २२-
‘जेनजी’ अभियन्ता मिराज ढुंगानाले ग्रान्ड शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले बुधबार आफ्नो फेसबुक पेजमा ‘बिर्सेको छैन, कमजोर भएको हैन’ भन्दै एक भिडियो सन्देश जारी गर्दै उक्त घोषणा गरेका हुन् ।
भिडियो सन्देशमा मिराजले ग्रान्ड शक्ति प्रदर्शन गर्ने मिति भने तोकेका छैनन् । “हामी कमजोर छैनौँ । हामीसँग धेरै मानिस जोडिनुभएको छ । छिट्टै हामी एकदम ग्रान्ड शक्ति प्रदर्शन गर्नेवाला छौँ । यो चाहिँ शन्तिपूर्ण हुनेवाला छ । धेरै मानिसले हाम्रो साथ दिनुहुनेवाला छ,” मिराजले भनेका छन् ।
यसअघि मिराजले भदौ २३ गतेको प्रदर्शनमा सहभागी हुन जेनजीहरूलाई आह्वान गरेका थिए । तर, उनी आफू भने भदौ २३ र २४ गतेको प्रदर्शनमा सहभागी भएका थिएनन् । आफ्नै केही साथीहरूले धम्की दिएपछि उनी भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा घरमै बसेका थिए ।
उनले बुधबार फेसबुकमा राखेको भिडियोमा आफ्नो संघर्ष नरोकिएको जनाएका छन् । मुख्य कुरा गरेरै छोड्ने दाबी उनले गरेका छन् । “मुख्यकुरा हामी गरेरै छोड्छौँ । त्यसको लागि हामी सबैजनालाई जुन बेला हाम्रो शक्ति प्रदर्शन हुन्छ त्यो बेला एउटा मोर्चा होला, एउटा मार्च होला, सबैजना आइदिनु होला,” मिराजले आह्वान गरेका छन् ।
























