Breaking News
अपडेटः नारायणघाट–मुग्लिन सडक खण्ड राति ९ बजेदेखि मात्र बन्द हुने

चितवन, असोज १९–
चितवनमा सवारी आवागमन गर्ने तालिका संशोधन गरिएको छ ।
आज साँझ ६ बजेदेखि चितवनमा सवारी आवागमन बन्द गर्ने भनिए पनि अब राति ९ बजेपछि मात्रै बन्द गरिने चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए । परिस्थिति हेरेर बन्दको तालिका संशोधन गरिएको उनले बताए । उनका अनुसार नारायणघाट–मुग्लिन सडक खण्ड र मुग्लिन–मौवा खोला सडक खण्ड मात्रै रातिको समयमा बन्द हुनेछ । यो बढी जोखिमपूर्ण सडक भएकाले राति बन्द गर्न लागिएको हो । पूर्व पश्चिम राजमार्ग भने निर्वाध रुपमा संचालन हुनेछ । चितवनबाट पश्चिम बुटवलतर्फ जाने सवारी र पूर्व मकवानपुरतर्फ जाने सवारी साधन निर्वाध रुपमा संचालन हुनेछ ।
मनसुनको जोखिम कायमै रहेको भन्दै चितवन प्रशासनले रातिदेखि भोलि विहानसम्मका लागि आवागमन बन्द गर्ने निर्णय गरेको हो । यहाँ जुनसुकै बेला पहिरो खस्ने संभावना भएकाले रातीमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।
यसअघि हिजो साँझ ६ बजेदेखि पनि चितवनका सडक बन्द गरिएको थियो । रातिको समयमा बढी जोखिम हुने भएकाले आवागमन दुईतर्फी नै बन्द गर्ने निर्णय गरिएको हो । चितवन प्रहरीले चितवन आउन चाहनेले आज राति ९बजे भित्रमा चितवन आइसक्नु पर्ने र काठमाडौं, पोखरा जान चाहने सवारी साधन पनि ९ बजे भित्रमा चितवनबाट छुटी सक्नु पर्ने भनेको छ । यस्तै प्रहरीले ९ बजे भित्र चितवन प्रवेश गरेका सवारी साधनहरुलाई लेन अनुशासन पालना गरी सुरक्षित रुपमा रहन आग्रह गरेको छ । मौसमको अवस्था हेरेर आवागमन बारे थप जानकारी दिइने प्रहरीले जनाएको छ ।
























