Breaking News
निरन्तर वर्षा र तुईन खोलामा लगातार ढुंगा खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरुपमा बन्द

चितवन, असोज १८–
चितवनका इच्छाकामना गाउँपालिका–५, स्थित तुईन खोलामा निरन्तर ढुंगा खस्न थालेपछि नारायणघाट–मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द गरिएको छ । यसअघि यो सडक खण्ड भएर पोखरा जाने सवारी साधान आवातजावत गरिरहेका थिए ।
अहिले दिउँसोबाट पूर्ण रुपमा बाटो बन्द गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । ‘अहिले फिस्लिङमा पनि पहिरो खसेर अवरुद्ध छ, तुईन खोलामा जोखिम बढेकाले पूर्ण रुपमा बाटो बन्द गरिएको छ’–प्रहरी उपरीक्षक पुरीले भने । तुईन खोलामा स–साना पहिरो खस्दा विहान एकतर्फी बाटो खुला गरिएको थियो । काठमाडौं जाने सवारी साधनलाई भने विहानैदेखि सुरक्षित ठाउँमा रोकेको थिए ।
प्रहरीका अनुसार कुरिनटार, मुग्लिन, रामनगर, आँपटारी, पोखरा बसपार्क, नाराणघाट बसपार्क, गोन्द्राङ, टिकौली, रत्ननगरको शान्ति चोक, पर्सा, भण्डारा, लोथरलगायत एक दर्जन ठाउँमा सवारी साधनहरुलाई सुरक्षित ठाउँमा रोकेको छ । अहिले सडकमा यात्रुबाहक बसहरू खासै नरहेको र धेरै जसो फर्काइएको छ भने हाल ट्रक, ग्याँस बुलेटहरू मात्रै बाटोमा रोकिएका छन् ।
दिउँसोसम्म धादिङ र पोखरातर्फ सवारी साधन गुडेपनि अहिले धादिङतर्फ जाने सवारी भने बाटोमै रोकिएका छन् । इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध बनेको हो । यस्तै चितवन प्रहरीले निरन्तर वर्षा भएकाले नदी नटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । आज दिउँसो प्रहरीले नारायणी नदी क्षेत्रमा माइकिङ गर्दै सुरक्षित रहन र नदी क्षेत्रमा नजान अनुरोध गरेको थियो ।
फोटोः फाइल
























