Breaking News

चितवनका केही सरकारी कार्यालय मात्रै खुले, अधिकांश कार्यालयबाट सेवा प्रवाह हुन सकेन

Banner

चितवन, भदौ २९–

जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीका कारण चितवनका अधिकांश सरकारी कार्यालय आज (आइतबार) संचालनमा आउन सकेनन् ।

भरतपुरमा रहेका उद्योग तथा वाणिज्य कार्यालय, कोष तथा नियन्त्रक कार्यालय, जिल्ला हुलाक कार्यालय, पशु सेवा कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला वन कार्यालय, सिँचाई कार्यालय भित्रका ६ वटा कार्यालय मात्रै आइतबार संचालनमा आएका छन् । यी कार्यालयमा सेवाग्राहीहरुले सेवा समेत लिन थालेका छन् । यस बाहेक चितवन राष्ट्रिय निकुञ्ज पारी अवस्थित माडी नगरपालिका भित्रका सबै सरकारी कार्यालय संचालनमा आएका छन् ।

माडी नगरपालिकासंगै सबै वडा कार्यालय, इलाका प्रशासन कार्यालय, मालपोत कार्यालयलगायतका सबै सरकारी कार्यालय सुरक्षित रहेकाले आइतबारदेखि नै सेवा सुरु भइसकेको माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतोले जानकारी दिनुभयो । जेन–जी युवाहरुले माडी नगरपालिका भित्र रहेको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मात्रै फुटाएर अन्य कुनै पनि क्षति नपु¥याएको नगर प्रमुख महतोले बताउनुभयो ।

यस्तै प्रदर्शनका क्रममा क्षति पुगेका जिल्लाका अन्य कुनै पनि सरकारी कार्यालय आइतबार खुल्न सकेनन् । मुख्य प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयले पनि आइतबार सेवा दिन सकेन । प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष सफा गरेर तयारी अवस्थामा राखिएको छ भने अन्य सेवा प्रवाहका लागि प्रशासन कार्यालयमा सरसफाईसंगै उपकरण जडान भइरहेका छन् । आगोले जलेको भागमा रंगरोगनको काम समेत चलिरहेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि सेवा दिन सक्ने कार्यालयबाट सेवा प्रवाह गर्ने निर्णय गरेसंगै विहानैदेखि सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला अदालत, मालपोत, नापी, कृषि कार्यालय, भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिकामा कर्मचारीहरुले आइतबार सरसफाइलाई निरन्तरता दिएका छन् । ती निकायहरुमा धेरै संरचना नष्ट नभएकाले सेवा प्रवाहमा केही दिन ढिलाई हुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>