भरतपुर
गामबेँसीको चेपाङ संरक्षण केन्द्रका संस्थापक अध्यक्ष शर्मा नगद एक लाखसहित सम्मानित

चितवन,भदौ २१-
पूर्वी चितवनको रत्ननगर-१० स्थित मंगलपुरमा गामबेँसीको चेपाङ संरक्षण केन्द्रमार्फत् चेपाङ बालबालिकाको लागि शिक्षा र चेपाङ जातिको उत्थान र उन्नयनमा योगदान गरेको भन्दै चेपाङ अभियन्ता केपि किरण शर्मा सम्मानित हुनुभएको छ । केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका शर्माले आश्रममा करिब एकसय पचास जना बालबालिकालाई आवासिय रुपमा राखेर शिक्षा प्रदान गरिरहनुभएको छ ।
सामाजिक कार्यमा समर्पित शर्मालाई काठमाडौंको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्यो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत तथा शिक्षाविद् केदारभक्त माथेमाले नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभयो ।
सम्मान ग्रहणपश्चात् शर्माले आफूले पाएको सम्मानबाट चेपाङ हितमा काम गर्ने थप उर्जा मिलेको बताउनुभयो । सीमान्तकृत चेपाङ बालबालिकाले आफूले सोचेजस्तै प्रगति गर्दै आएकाले अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो । शर्मा ‘चेपाङका बा’ उपनामले परिचित हुनुहुन्छ ।
























