खेलकुद

बीसीए अन्तरस्कुल क्रिकेटः अर्बिट र होलिभिजन विजयी

Banner

चितवन, भदौ १७–

चितवनको भरतपुरमा जारी प्रथम संस्करणको ‘बीसीए इन्टर हाइस्कुल नकआउट क्रिकेट प्रतियोगिता’ अन्तरगत आज पनि दुई खेल सम्पन्न भएका छन् ।

भरतपुर क्रिकेट एकेडेमीको आयोजनामा भरतपुर–५ समीचोकस्थित एकेडेमीको मैदानमा जारी प्रतियोगितामा आज अर्बिट एकेडेमी र होली भिजन पब्लिक स्कुल विजयी भएको प्रतियोगिताका निर्देशक महादीप श्रेष्ठले जानकारी दिए ।

आजको पहिलो खेलमा स्टेप बाइ स्टेप इङलिस स्कुललाई होली भिजनले ७ विकेटले पराजित गर्‍यो । स्टेप बाइ स्टेपले दिएको ६७ रनको झिनो लक्ष्य होली भिजनले १२.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । होली भिजनका लागि सुशान्त रानाभाटले २० र सागर कँडेलले १४ रन बनाए । स्टेप बाइ स्टेपका लागि सम्बृद्ध अधिकारी, आश्विन निगम र आसुतोष पौडेलले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्टेप बाइ स्टेप १३.२ ओभरमा ६६ रनमै अलआउट भयो । उसका लागि आश्विन निगमले सर्वाधिक १७ रन बनाए । होली भिजनका आर्यन सुवेदीले ३.२ ओभरमा मात्र ६ रन खर्चिदै ४ विकेट लिए । सुशान्त रानाभाट र सागर कँडेलले समान २–२ विकेट लिए ।

प्रतियोगिता अन्तरगत आजै भएको दोस्रो खेलमा अर्बिट एकेडेमी ५७ रनको फराकिलो अन्तरले विजयी भयो । अर्बिटले दिएको १२४ रनको लक्ष्य पछ्याएको भरतपुर मावि १३.४ ओभरमा ६६ रनमै अलआउट भयो । उसका लागि राहुल शाहले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । उसलाई सस्तैमा समेट्न सुभ परियार र आशिष परियारले समान ३–३ विकेट लिए । ऋतिक्रोशन राउतले २, कमल सुवेदी र अभिमन्युले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अर्बिटले जय कुमार यादवको ४४ रनको मद्धतले मध्यम लक्ष्य तय गरेको थियो । बरुन यादवले १३ र राजन सुनारले १२ रन बनाए । भरतपुर माविका रवि कुमार कानु र सुमित भगतले समान ३–३ विकेट लिए । रुपेश भगत र अभिषेक यादवको नाममा एक–एक विकेट रह्यो । विजयी टोली सुपर ८ मा प्रवेश गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नारायणी इङलिस पब्लिक स्कुल विजयी भयो भने दोस्रो खेल चितवन मावि र खैरहनीको ग्लोसाइन एकेडेमी बीचको खेल वर्षाले स्थगित भयो । यो खेल पुनः खेलाइने प्रतियोगिता संयोजक दीपेश श्रेष्ठले जानकारी दिए ।
भदौ २३ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाभरका १६ वटा विद्यालयको सहभागिता भरतपुर क्रिकेट एकेडेमीका अध्यक्ष सुहान गिरीले जानकारी दिए । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतियोगिताको सह–आयोजकमा भरतपुर स्पोर्टस क्लव रहेको छ भने चितवन जिल्ला क्रिकेट संघले सहकार्य गरेको छ । प्रतियोगिताको लाइभ पार्टनरमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवन रहेको छ भने इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेशन नारायणगढ रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल युट्युवबाट भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>