चितवन विशेष
नारायणी अनलाइनकर्मी आचार्य सम्मानित

भरतपुर,भदौ १४-
नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्य सम्मानित हुनुभएको छ । कालिगण्डकी साहित्य परिषदले शनिवार कालिका नगरपालिका ६ खोलेसिमलमा आयोजित कार्यक्रम मार्फत आचार्यलाई सम्मान गरेको हो । पत्रकारिता मार्फत कला, साहित्य र नेपाली भाषा संरक्षणमा योगदान पुर्याएको भन्दै आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले सम्मान गर्नुभयो ।
आचार्यले विगत पन्ध्र वर्षदेखि चितवनमा क्रियाशिल रुपमा पत्रकारिता गर्दै आउनुभएको छ । रासस चितवनका सम्बाददाता समेत रहनुभएका आचार्य पत्रकार महासंघ चितवन शाखाको कोषाध्यक्ष हुनुहुन्छ ।
सो अवसरमा गतवर्षको एसइई परीक्षामा नेपाली विषयमा चार जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयका १५ जना विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । जसमा पृथ्वी माध्यामिक विद्यालयका १० जना,भिमोदय माविका ४ जना र न्यु सगरमाथा इङलिस स्कुल जुटपानीका १ जना विद्यार्थी सम्मानित भए ।
परिषदका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विमला लामा, वडा नम्वर २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मण पौडेल, वडा नम्वर ६ का वडाध्यक्ष टिकाराम रेग्मी, कार्यपालिका सदस्य शान्ती महतोल, साहित्यकार केशवराज आमोदी गायतको उपस्थिति रहेको थियो । कार्यक्रम परिषदका सहसचिव टिकाराम पराजुलीले सञ्चालन गर्नुभएको थियो ।
























