Breaking News
१९ सांसदबाटै त्रसित छन्, ८४ मा १९० सिट जित्छौँः सांसद खनाल

काठमाडौं, साउन ३१-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले आगामी २०८४ सालको आम निर्वाचनमा आफ्नो पार्टीले १९० सिट जित्ने दाबी गरेका छन्। उनले संसदमा रास्वपाका १९ सांसदले उठाएका मुद्दा र खबरदारीबाटै पुराना दलहरू त्रसित बनेको टिप्पणी गरे।
शनिबार काठमाडौंको जडीबुटीमा रास्वपा मेलुङ–सैलुङ सम्पर्क विभागले आयोजना गरेको वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खनालले भने, ‘उनीहरुको (पुराना दल) मनमा अहिले के ढ्याङ्ग्रो पिट्न थाल्यो भने, यहाँ १९ को सट्टा १९० आउने भए। अब ८४ मा १९० हुने भए, ‘१९ जनाले त यस्तो धौधौ पार्छन्, यस्ता अप्ठ्यारा प्रश्न सोध्छन् भने १९० जना रास्वपाका सांसद हुँदा के हुन्थ्यो होला ?’
‘संख्याको हिसाबले हामी जम्मा २१ सांसद हौँ, त्यसमा पनि रविजी निलम्बित र एकजना उपसभामुख हुनुहुन्छ। बाँकी १९ जनाले संसदमा बोल्ने हो,’ उनले भने, ‘तर कांग्रेस र एमालेका नेताहरूले देशको सबै बेथितिको कारण रास्वपा नै हो जसरी हरेक दिन हामीलाई गाली गर्नुहुन्छ।’























