Breaking News
चितवनको केरामा देखियो ‘सिगाटोगा’ रोग

चितवन, साउन १७-
चितवनमा व्यावसायिक रुपमा लगाइएको केरा खेतीमा ‘सिगाटोगा’ रोग देखा परेको छ । चितवनको केराखेतीमा देखिएको यस रोगका कारण यहाँका किसानहरु चिन्तित भएका छन् ।
कालिका नगरपालिका–३ का नेत्रराज जैसीले ४० बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा केराखेती गर्दै आउनुभएको छ । विगत लामो समयदेखि व्यावसायिकरुपमा केराखेती गर्दै आउनुभएका जैसी यतिखेर केरामा ‘सिगाटोगा’ रोग देखिएपछि चिन्तित हुनुभएको छ । “विगतमा मालभोग जातको केरा लगाएको थिएँ । त्यसमा पानामा रोग देखिएपछि चार वर्ष अघिदेखि जी–नाइन जातको हरियो केरा लगाउन थालँे” उहाँले भन्नुभयो, “यसमा पनि गत वर्षदेखि पात सुक्ने, कोशा फुट्ने, गुदी नपस्दै पाक्ने समस्या देखिएको छ ।”
यस रोगका कारण पछिल्लो दुई दिनमा मात्रै छ सय घारी केरा त्यतिकै फाल्नुपरेको भन्दै उहाँले अझै पुरै केरा बगान घुमेर हेर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार चितवनमा दुई वर्षदेखि जी–नाइन जातको केरामा समस्या देखिन थालेको हो । जैसीले केराखेती गर्नुभएकोमध्ये २८ बिघा क्षेत्रफलमा जी–नाइन जातको केरा लगाउनुभएको छ । विशेष गरेर यो वर्ष असारको १५ गतेदेखि केरामा बढी समस्या देखिन थालेको उहाँले बताउनुभयो ।
“हरियो केरा सर्लक्क हुन्थ्यो । अहिले कोसा समेत साना छन्”, उहाँले भन्नुभयो, “केरामा रोग देखिएपछि ढुसी र चिसोको लागि प्रयोग गर्ने विषादी राखेको छु, यसले केरामा केही राम्रो गरेको छ ।” विसं २०६८ सालमा १० कठ्ठा क्षेत्रफलबाट केराखेती सुरु गर्नुभएका जैसीले विसं २०७९ सालमा ४२ बिघा क्षेत्रफल पु¥याउनुभएको थियो । पछिल्लो समय विभिन्न समस्याका कारण केराखेती गर्ने क्षेत्रफल घटाएर ४० बिघामा झारेको उहाँले बताउनुभयो ।
चितवनमा ३२ बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका सुन्दर न्यौपानेका अनुसार चितवनमा लगाइएको जी–नाइन जातको अधिकांश केराको बगानमा सिगाटोगा रोग देखिएको छ । “मैले ३२ बिघा क्षेत्रफलमा केराखेती गरेको छु । गत वर्षदेखि यो रोग देखिएको थियो”, उहाँले भन्नुभयो, “यसले केरामा नोक्सान पु¥याउनुको साथै उत्पादनमा समेत कमी देखिएको छ ।” उहाँका अनुसार एकैनासको हावापानी भएको ठाउँमा यो रोग देखिएको छैन ।
“भारतमा पनि जी–नाइन जातको केरामा यो रोग देखिएको छ । बढी गर्मीे र बढी चिसो हुने हाम्रो जस्तो तराई क्षेत्रमा यो रोगदेखिने रहेछ”, उहाँले भन्नुभयो, “चितवनमा मनसुनसँगै पानी परेपछि जी–नाइन जातको केरामा पात सुक्ने समस्या देखिन थालेको छ ।”
चितवनमा जी–नाइन जातको केरामा ‘सिगाटोगा’ रोग देखिएपछि सचेतना अपनाउन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनले आग्रह गरेको छ । रोग नियन्त्रणका लागि कार्यालयले नौ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको कार्यालयका प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । “चितवनमा सिगाटोगा रोग विगत वर्षदेखि नै देखिएको थियो । हामीले यस वर्ष रोग नियन्त्रणका लागि वार्षिक कार्यक्रम बनाएर नै बजेट विनियोजन गरेका छौँ” उहाँले भन्नुभयो, “रोग नियन्त्रणका लागि हामीले ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” किसानहरुको गुनासो आएको ठाउँमा पुगेर किसानहरुलाई रोग नियन्त्रणका लागि जानकारी दिने काम भइरहेको उहाँले बताउनुभयो ।
के हो सिगाटोगा रोग ?
यो रोग ढुसीबाट लाग्ने रोग हो । चितवनको केराखेतीमा यस रोग व्यापक रुपमा फैलिएको किसानहरुको भनाइ छ । यो रोगको जीवाणु हावा र पानीबाट फैलिने भएकाले मनसुन सुरु भएपछि धेरै ठाउँमा देखा परेको हो । रोग लागेपछि पातहरु पुरै डढ्ने र फल पनि पाक्ने बेला नभई पाकेको जस्तो देखिने र कुहिएर झर्ने गर्छ । यस रोगबारे किसानहरुलाई त्यति थाहासमेत नभएको कार्यालयका प्रमुख महेश रेग्मीले बताउनुभयो ।
सिगाटोगा पात थोप्ले केराको एक प्रमुख रोग हो । हाल केराखेती हुने विश्वका प्रायः सबै भू–भागमा यो रोग फैलिएको छ । ढुसीद्वारा लाग्ने यो रोग दुई किसिमको हुन्छ । पहेँलो सिगाटोगा र तराईमा विशेष गरी पहेँलो सिगाटोगाले वर्षायामदेखि हिउँदसम्म ठूलो क्षति पु¥याउने गरेको छ । विशेषगरी केराको रोगी माउबाट गानो छुट्याएर रोप्दा यो रोग सर्ने विज्ञको भनाइ छ ।
असार–साउनबाट सुरु हुने यस सिगाटोगा रोगको प्रकोपले कात्तिकदेखि पुससम्म केरा बगानमा धेरै क्षति पु¥याउने गरेको छ । रोगको सङ्क्रमण देखिने बेलामा सुरुमा फिक्का हरियो हुँदै पातमा थोप्ला हुन पुग्छ र पात सुक्न थाल्छ । रोग धेरै फैलिएमा पातलाई सुकाई दिन्छ । फल राम्रोसँग वृद्धि हुन सक्दैन र पूर्ण विकसित नभई चाँडै नै पाक्दछ । त्यस्ता फलका कोसा साना र पातला हुन्छन् । यसलाई नियमित रुपमा बगानको अवलोकन, रोगमुक्त बिरुवा रोप्ने, थोपा सिँचाइ वा जमिनमुनिको सिँचाइको व्यवस्था गरेमा रोग लाग्न धेरै कम हुने विज्ञको भनाइ छ ।
ढुसीनासक विषादीको प्रयोगले रोगको न्यूनीकरण गर्न सकिन्छ । चितवनमा दुई हजार हेक्टरभन्दा बढी जमिनमा व्यावसायिक रुपमा केरा खेती हुँदै आएको छ । व्यावसायिक रुपमा केराखेती गर्नेमध्ये सहकारी, समूह र कृषि फर्म गरेर दुई सय २५ जनाभन्दा बढी किसानले गरेको केराखेतीको एक हजार आठ सय ५० हेक्टर जमिनमा केराको सुपरजोनमा सूचीकृत छन् ।
























