चितवन विशेष
भरतपुरका १ सय १ जना युवालाई निःशुल्क सिपमुलक तालिम दिँदै युवा व्यवसायी सिग्देल

चितवन,साउन ६-
चितवनका एक युवा व्यवसायीले १ सय १ जना युवालाई निःशुल्क तालिम दिने भएका छन । भरतपुरमा पपुलर शैलुन सञ्चालन गर्दै आएका युवा व्यवसायी सुलभ सिग्देलले भरतपुर महानगरपालिका भित्रका १ सय १ जना युवालाई विभिन्न सिपमुलक तालिम निःशुल्क दिने भएका हुन् ।
मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सिग्देलले आफ्नो कम्पनी पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसर पारेर युवालाई निःशुल्क सिपमुलक तालिम दिने घोषणा गर्नुभएको हो । उहाँद्धारा सञ्चालित पपुलर शैलुनले भरतपुरको सिजी ल्याण्डमार्कमा सेवा दिइरहेको छ भने सयौं युवालाई तालिम समेत प्रदान गरेको छ । पपुलरले सामाजिक उत्तरदायित्व अन्तर्गत कपाल काट्ने, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुव्र्यसनी सम्बन्धि सचेतनामुलक तालिम दिन लागेको पपुलर जागरण प्रालिका अध्यक्ष सुलभ सिग्देलले जानकारी दिनुभयो ।
कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २० जना, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धि तालिम २० जना भन्दा बढीलाई दिइने उहाँले बताउनुभयो । ‘नेपालमै स्वरोजगार बन्न चाहानेहरुका लागि प्राथमिकतामा राखिनेछ,उहाँले भन्नुभयो,बिदेश पलायन हुनेक्रमलाई केही हदसम्म भएपनि कम गर्न सहयोग पुग्नेछ ।’ सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई टपरी बुन्ने तालिम दिइने उहाँले बताउनुभयो । ‘बिद्यार्थीदेखि विदेश गएर फर्किएका युवायुवतीहरुलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौँ’, उहाँले भन्नुभयो, ‘सबै तालिमहरु हामीले एक महिनाभित्र दिइसक्छौँ ।’ ९० घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
तालिमहरु सम्पन्न गर्दा लाग्ने खर्च पपुलर जगरण प्रालीले नै व्यहोर्ने उहाँले बताउनुभयो । ‘आम्दानीको १० प्रतिशत रकम सामाजिक काममा लगाउनुपर्छ भन्ने मेरो धारणा छ । सोहि रकम सिपमुलक तालिममा खर्च गर्न लागिएको हो’, उहाँले भन्नुभयो । व्यवसायिक रुपमा कपाल काट्ने तालिम लिने एक जनाबाट ३० हजार रुपैयाँ शुल्क लिने गरिएको उहाँले बताउनुभयो ।
‘मैले विगत देखिनै युवाहरुलाई स्वरोजगार बनाउने हेतुले सिपमुलक कार्यक्रम गर्दै आएको छु । अहिलेसम्म सय बढिलाई निःशुल्क रुपमा कपाल काट्ने सिप सिकाइसकेको छु,उहाँले भन्नुभयो ।’ व्यवसायिक रुपमा शुल्क लिएर पाँच हजार भन्दा बढीलाई सिप सिकाएको उहाँले बताउनुभयो ।
चितवनमा विभिन्न सामाजिक काम गर्दै आउनुभएका सिग्देलले आफ्नो जन्मदिन र संस्थाको स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रमको समेत आयोजना गर्नुभयो । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
























