चितवन विशेष
‘एक्सपर्ट सम्पूर्ण किताब उत्सव’ले ततायो चितवनको साहित्यिक माहोल

विपिन पाठक
चितवन, असार १३–
सम्पूर्ण किताब नारायणगढले भोलि (शनिबार) गर्ने किताब उत्सवले यतिबेला चितवनको साहित्यिक माहोल तताएको छ।
लिटलेचर फेस्टिभलको झल्को दिनेगरी विभिन्न सेसनहरू तयार गरी कार्यक्रम गर्न लागिएको हो। ‘एक्सपोर्ट सम्पूर्ण किताब उत्सव २०८२’ नाम दिइएको उक्त कार्यक्रम शनिबार १२ः३० बजे उद्घाटन सत्र सञ्चालन गरिनेछ। जहाँ रमेश प्रभातको कृति ‘अरु अलिकति फरक कुरा’ तथा भीम शर्माको ‘कुण्डलिनी योग’ विमोचन समेत गरिनेछ ।
१ बजे डाक्टर एकनारायण पौड्यालबाट ‘चितवनको साहित्य गति र दिशा’ विषयमा विद्वत प्रवचन रहनेछ। ‘के पढ्छन् बालबालिका, ‘शिक्षकले किन पढ्ने ?’, ‘चितवनको किताब बजारः हिजो र आज’, ‘कता जाँदैछ चितवनको साहित्य’ तथा ‘सम्पूर्ण काव्य सन्ध्या’ गरी पाँचवटा सेसनहरू तय गरिएको आयोजक सम्पूर्ण किताबका प्रमुख लेखरामम सापकोटाले जानकारी दिनुभयो। सम्पूर्ण साहित्य सन्ध्यामा ३० बढी सशक्त प्रतिनिधि कविहरूको कविता वाचन रहनेछ । चितवनका शैक्षिक, प्राज्ञिक, साहित्यिक तथा सामाजिक व्यक्तित्वहरू वक्ताको रूपमा रहनुभएको उक्त उत्सवमा चितवन, नवलपरासीलगायतका जिल्लाबाट बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ।
गैंडाकोट नारायणी नदी किनार स्थित नारायणी रिसोर्टमा हुने उक्त कार्यक्रमले चितवनको साहित्यिक वृत्तमा तरङ्ग सिर्जना गरेको छ। भरतपुर तीन स्थित लाइन्सचोक नजिकै रहेको सम्पूर्ण किताबले पठन संस्कृतिको अभिवृद्धि गर्न विभिन्न साहित्यिक कार्यक्रम, पठन संस्कृति अभियान, विद्यार्थीका बीचमा मुना वितरण, निःशुल्क पुस्तक वितरण जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।























