Breaking News
कुशल मल्ल चितवन राइनोजमै रहने, शरद भेषावकरलाई रिलिज गरियो

चितवन,असार १०-
चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि चितवन राइनोजले ‘रिटेन’ (आफैंसँग राख्ने) र ‘रिलिज’ (अन्य क्लबमा जान स्वतन्त्र छाड्ने) गर्ने खेलाडीको नामावली सार्वजनिक गरेको छ ।
चितवन राइनोजले मार्की खेलाडीका रूपमा कुशल मल्ललाई आगामी सिजनका लागि पनि आफैंसँग राख्ने भएको छ । ग्रेड ‘ए’ खेलाडी रिजन ढकाल र कमलसिंह ऐरीलाई पनि आगामी सिजनका लागि आफैंसँग राख्ने चितवन राइनोजले जनाएको छ ।
यसैगरी, ग्रेड ‘बी’बाट दीपक बोहरा र अमरसिंह रौटेलालाई पनि चितवन राइनोजले दोस्रो संस्करणका लागि रिटेन गरेको छ । चितवन राइनोजले ग्रेड ‘सी’बाट गौतम केसीलाई रिटेन गर्ने निर्णय लिएको क्लबले जनाएको छ । यसैगरी, चितवन राइनोजले राष्ट्रिय टोलीका पूर्वसदस्य शरद भेषावकरलाई भने रिलिज गरेको छ । अब शरद अन्य क्लबमा आबद्ध हुन स्वतन्त्र हुनेछन् । शरद ग्रेड ‘ए’ खेलाडी हुन् । चितवन राइनोजले ग्रेड ‘बी’ का खेलाडी दीपेश श्रेष्ठ र विपिन रावललाई पनि रिलिज गरेको छ ।
चितवन राइनोजले ग्रेड ‘सी’ मा रहेका सन्तोष कार्की र रञ्जित कुमारलाई पनि रिलिज गरेको छ । यसका अतिरिक्त चितवन राइनोजले ट्यालेन्ट हन्टबाट जोडिएका खेलाडी सलाउद्दिन खानलाई पनि रिलिज गरेको छ । चितवन राइनोजले आगामी सिजन क्लबसँग नरहने खेलाडीहरूलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको आगामी यात्राका लागि शुभकामना पनि व्यक्त गरेको छ ।
यसअघि, सुदूरपश्चिम रोयल्सले पनि आगामी सिजनका लागि रिटेन र रिलिज गर्ने खेलाडीहरूको नामावली सार्वजनिक गरेको थियो । सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), विनोद भण्डारी, आरिफ शेख, अविनाष बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो । यसैगरी, सुदूरपश्चि रोयल्सले अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गर्ने निर्णय गरेको थियो ।






















